उपभोक्ता मुद्रास्फीति घट्यो, कात्तिक महिनामा ८.०८ प्रतिशत


चालु आर्थिक वर्षको कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति समान्य घटेको छ । गत असोज महिनामा ८.५६ प्रतिशत रहेको मुद्रास्फीति कात्तिक महिनामा ८.०८ प्रतिशत झरेको हो । 

आयातमा गरिएको नियन्त्रण, अर्थतन्त्रमा आएको मागको कमी उपभोक्ताको क्रय शक्ति घटेपछि मुद्रास्फीतिलाई केही कमी आएको हो । तर, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने मुद्रास्फीति करिब २ प्रतिशतको विन्दुले बढेको छ । 

२०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो । 

कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ । 

उप–समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको मूल्य ८.३३ प्रतिशतले बढेको छ ।

कात्तिकमा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ कात्तिक महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.०२ प्रतिशत रहेको छ । गत अवको सोही महिनामा यस्तो मुद्रास्फीति ६.६८ प्रतिशत रहेको थियो । चालु आवको कात्तिकमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ५.६२ प्रतिशत, १३.४९ प्रतिशत र ४.६९ प्रतिशत रहेको छ । 

कात्तिक महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ११.८९ प्रतिशत रहेको छ । २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.४७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.०३ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.१९ प्रतिशतले बढेको छ । 

२०७९ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । सन् २०२२ नोभेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.८८ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।