विश्व आप्रवासी श्रमिक दिवस साताभर मनाइने

0
Shares

नेपाल सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यो बर्षको आप्रवसी श्रमिक दिवस “वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञान: उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान” भन्ने मूल नाराका साथ मनाइने तय गरेको छ ।

त्यस्तै, आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको आधारः व्यवस्थित र सम्मानित वैदेशिक रोजगार, आप्रवासी श्रमिकको सम्मान गरौंः समान कामका लागि समान ज्याला कायम गरौं, महिला आप्रवासी श्रमिकको सम्मान गरौंः लैङ्गिक विभेदको अन्त्य गरौं, आप्रवासी र आश्रित परिवारको संरक्षण गरौँ र स्वास्थ्य र सामाजिक सुरक्षाको आधारः व्यवस्थित र सम्मानित वैदेशिक रोजगार नारायलाई यो बर्ष शसक्त रुपमा उठाइने श्रम मन्त्रालयले जनाएको छ । डिसेम्बर १६ देखि २२ तारिखसम्म सप्ताह व्यापी रुपमा आप्रवासी श्रमिक दिवस मनाइने भएको छ ।

विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विकासले गर्दा आप्रवासन वर्तमान समाजको अभिन्न आयाम बन्न पुगेको छ । रोजगारीको खोजी, अध्ययन, व्यवसाय, घुमफिर, शरणार्थी जीवन, कामको क्षेत्रगत विविधता लगायतका कारणले विश्वमा आप्रवासन हुने प्रचलन छ । आईओएमद्वारा प्रकाशित विश्व आप्रवासी रिपोर्ट २०२२ अनुसार संसारभर २८ करोड ५९ लाख मानिसहरु आप्रवासी श्रमिकको रुपमा रहेका छन् ।

यी आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै वैदेशिक रोजगारमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्युनतम् मानव अधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासी श्रमिकहरु माथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्र संघले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गर्यो जुन सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं. ५५/९३ लाई पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्वरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउने गरिएको छ । नेपालमा पनि यो दिवस सम्बद्ध सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरुका परिवार, संचार जगत, लगायत सम्बद्ध पक्षहरुको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।