अर्घाखाँची सिमेन्टको आम्दानी खस्कियो, रेटिङमा पनि गिरावट

0
Shares

अर्घाखाँची सिमेन्ट उद्योगको आम्दानीमा गिरावट देखिएको छ । सन् २०२१ मा ८ अर्ब ७० करोड आम्दानी गरेको उद्योगले सन् २०२२ मा ७ अर्ब ७० करोड मात्र आम्दानी गरेको छ ।

इन्धन विशेषत कोलको मूल्यमा भएको वृद्धि, लाइमस्टोनको मूल्यमा भएको वृद्धि र बजारमा सिमेन्ट उत्पादक उद्योगबीचको प्रतिस्पर्धाका कारण उद्योगको आम्दानी खस्किन पुगेको उद्योगले जनाएको छ । आम्दानीमा आएको गिरावटसँगै उद्योगका अरु वित्तीय सूचांकहरु पनि कमजोर देखिएका छन् ।

सन् २०२१ मा डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको नाफा सञ्चालन आम्दानीको २३ प्रतिशत रहेको थियो । जुन सन् २०२२ मा ८ प्रतिशत मात्रै रहेको छ । यसैगरी कर्जाको ब्याज तिर्न सक्ने क्षमतामा पनि पनि कमी आएको छ ।

सन् २०२१ मा लिएको कर्जाको ब्याज भुक्तान गर्न सक्ने क्षमता कुल कर्जाको ५.४६ गुणा रहेको थियो भने सन् २०२२ मा कर्जाको ब्याज तिर्न सकने क्षमता कर्जाको १.५३ गुणा मात्रै रहेको छ । यसैगरी सन् २०२१ मा सेयरधनीहरुको सेयर र कर्जाको अनुपात १.१४ रहेको थियो भने सन् २०२२ मा ०.९८ कायम छ ।

सन् १९९८ मा डाइनास्टी इन्डस्ट्रीज नेपालको नामबाट सञ्चालनमा आएको उद्योग सन् २०११ मा नाम परिवर्तन गरी अर्घाखाँची सिमेन्ट उद्योगको नामबाट सञ्चालनमा रहेको छ । उद्योगले क्लिंकर र सिमेन्टको उत्पादन र बिक्री वितरण गर्दै आएको छ । उद्योगको प्रतिवर्ष १० लाख मेट्रिक टन क्लिंकर उत्पादन र ८ लाख ग्राइन्डीङ क्षमता रहेको छ । उद्योगले ओपीसी र पिपिसी सिमेन्टको उत्पादन तथा वितरण गर्दै आएको छ ।

नेपालका प्रसिद्ध व्यापारिक घराना सिदार्थ ग्रुप, मुर्रारका ग्रुप र केडिया ग्रुप अर्घाखाँची सिमेन्ट उद्योगका प्रमोटर रहेका छन् । उद्योगमा सिद्धार्थ ग्रुपको सेयर हिस्सा ३५ प्रतिशत, मुर्रारका ग्रपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेशनलको १७.५ प्रतिशत रहेको छ ।

उद्योगको नाफा मार्जिनमा आएको कमीका काराण् कर्जा रेटिङमा समेत गिरावट आएको छ । ५ अर्ब २२ करोड ६० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि उद्योगलाई इक्राले ट्रिपल बी माइन्स (बीबीबी –) र ए३ रेटिङ गरेको छ । यस अघिको कर्जा रेटिङका लागि इक्राले उद्योगले ट्रिपल बी प्लस र ए३ प्लस रेटिङ गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।