ऋणपत्र बेचेर साढे २ अर्ब जुटाउँदै स्ट्याण्डर्ड चार्टर्ड बैंक

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्काशन तथा बिक्रीबाट साढे २ अर्ब रुपैयाँ स्रोत संकलन गर्ने भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले बोर्डबाट मंसिर २९ गते बिहीबार अनुमति पाएको हो । बैंकले लगानीकर्ताहरुलाई वार्षिक १०.३० प्रतिशत ब्याजदर दिनेगरी पाँच वर्ष अवधिका लागि ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिइकाई एक हजार अंकित दरका २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ४० प्रतिशत बराबरले हुन आउने ९ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला हुनेछ भने १४ लाख ४० हजार कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई अजिवार्य रुपमा चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । ऋणपत्र मार्फत संकलित रकम शतप्रतिशतसम्म लगानी गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७९, आइतबार  १५ : २८ बजे