एक महिनामा बैंकहरुको निक्षेप ५७ अर्बले बढ्दा कर्जा लगानी २ अर्ब मात्रै

0
Shares

बैंकहरुले मंसिर महिनामा मात्रै ५७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । वाणिज्य बैंकहरुले यो अवधिमा ५७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब २ करोड रुपैयाँ मात्र लगानी गरेका हुन ।

चालु आर्थिक वर्षको मंसिर महिनामा उच्च ब्याजदरका कारण कर्जाको माग नहुनु तथा रेमिट्यान्स आप्रबाहमा आएको सुधारले निक्षेपमा सुधार बढोत्तरी आएको हो । त्यसैगरी बैंकहरुको ब्याजदरमा गिरावट नआएपछि ब्याज आम्दानीका लागि मुद्दती निक्षेपमा निक्षेपकर्ता आकर्षित भएको स्पष्ट हुन्छ ।

त्यसैगरी उच्च ब्याजदरका कारण कर्जाको मागमा कमी आएको स्पष्ट हुन्छ । त्यसका साथै बैंकहरुले कर्जा निक्षेप अनुपातको सीमा कायम गर्नका लागि कर्जा लगानीमा जोड नदिएको पनि देखिन्छ । पुस महिना पछि बैंकहरुले स्थानीय तहको निक्षेपलाई ८० बाट ५० प्रतिशत मात्र गणना गर्न पाउछन ।

त्यसका साथै पुनरकर्जा भुक्तानी, डिबेञ्चरलाई समेत निक्षेपमा गणना गर्न पाउने व्यवस्था हट्ने र कर भूक्तानी गर्नु पर्ने भएकाले कर्जा निक्षेप अनुपातमा दबाब पर्ने बैंकरहरुको भनाइ छ । त्यसैले पनि बैंकहरुले निक्षेप बढेको भएपनि कर्जा लगानी बढाउन नखोजेको देखिन्छ ।

मंसिर महिनामा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८६.४ प्रतिशत रहेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार मंसिर महिनामा सबैभन्दा धेरै राष्ट्रिय वाणिजय बैंकले निक्षेप संकलन गरेको छ । बैंकले गत महिनामा मात्रै १० अर्ब ५ करोड रुपैयाँ निक्षेप थप गरेको छ । बैंकले मंसिर अन्तिमसम्ममा २७७ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

मंसिर महिनामा ६ बैंकको निक्षेप घटेको छ । सबैभन्दा धेरै निक्षेप घट्ने बैंकमा कुमारी बैंक रहेको छ । यस अवधिमा बैंकको एक अर्ब ८६ करोड रुपैयाँ निक्षेप घटेको छ । मंसिर अन्तिमसम्ममा बैंकको कुल निक्षेप १७६ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

चालुआर्थिक वर्षको पाँच महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै कर्जा लगानी गरेको छ । मंसिर महिनामा बैंकले एक अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । तर, मंसिर महिनामा १२ वाणिज्य बैंकको कर्जा लगानी घटेको छ । सबैभन्दा धेरै कर्जा लगानी घट्नेमा एनआइसी एसिया बैंक रहेको छ । बैंकको २ अर्ब ९९ करोड रुपैयाँ बराबरको कर्जा घटेको छ ।
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७९, आइतबार  १९ : ०८ बजे