नेपाल राष्ट्र बैंकले बुधबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।
राष्ट्र बैंकले यहि पुस ६ गते बुधबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो ।
यो विकास ऋणपत्र ४ वर्षे अवधिको हुनेछ । पुस ६ गते बुधबार निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८३ पुस ६ गते हुनेछ ।
केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा खासै चासो देखाएको देखिँदैन ।
इच्छुकले पुस ५ गते मंगलबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् ।
यदि राष्ट्र बैंकमा खाता नरहेको बोलबालाहरुले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २।५० प्रतिशतले अर्नेष्ट मनि वापतको रकम बैंकको खातामा जम्मा गरी प्राप्त भौचर बुझाउनुपर्ने हुन्छ ।
प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ४ अर्ब २५ करोड (८५ प्रतिशत) र ७५ करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ ।
निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया