निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड ७० लाख ३१ हजार ७७५ निक्षेपकर्ताको ११ खर्ब २४ अर्ब रुपैयाँको सुरक्षण गरेको छ । कोषले चालु आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिसम्ममा ६१ वटा बैक तथा वित्तिय संस्थाका निक्षेपकर्ताको निक्षेप रकम सुरक्षण गरेको हो ।
चालु आवको असोज महिनासम्मको तथ्यांक अनुसार कोषले २६ वटा बाणिज्य बैंकका तीन करोड १९ लाख ५२ हजार ५१८ निक्षेपकर्ताको ९ खर्ब ७७ अर्ब रुपैयाँ सुरक्षण गरेकोे छ ।
त्यस्तै, १७ वटा विकास बैंकका ४५ लाख ४ हजार ४७७ निक्षेपकर्ताको एक खर्ब २६ अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरेको छ । १६ वित्त कम्पनीका पाँच लाख १६ हजार २९० निक्षेपकर्ताको १८ अर्ब ८९ करोड रुपैयाँ सुरक्षण भएको छ भने दुई वटा लघुवित्त वित्तीय संस्थाका ५८ हजार ४९० निक्षेपकर्ताको एक अर्ब १६ करोड रुपैयाँ सुरक्षण भएको छ।
बैक तथा वित्तिय संस्था टाट पल्टेमा निक्षेपकर्ताको रकम सुरक्षण गर्नका लागि छुट्टै निकाय खडा गरी निक्षेपको सुरक्षण गर्ने गरिन्छ । यो अन्तराष्ट्रिय अभ्यास नै हो।
नेपालमा पनि निक्षेप तथा कर्जा सुरक्षण कोष यस्तो काम गर्दै आएको छ । हाल कोषले बैक तथा वित्तिय संस्थाका निक्षेपकर्ताको ५ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्दै आएको छ ।
यस अघि दुई लाख रुपैयाँको सुरक्षण गर्न व्यवस्था थियो । जसअनुसार बैक तथा वित्तिय संस्था टाट पल्टिएमा कोषले पाँच लाख रुपैयाँसम्म निक्षेपकर्तालाई भुक्तानी गर्छ ।
सुरक्षण गरे बापत बैक तथा वित्तिय संस्थाले बार्षिक शून्य दशमलव १६ प्रतिशत प्रिमियम रकम भुक्तानी गर्नुपर्नेछ । त्रैमासिक रुपमा भने ०.०४ प्रतिशत शुल्क भुक्तानी गर्नुपर्छ ।
निक्षेप सुरक्षण बापत कोषले ४४ अर्ब ९९ करोड रुपैयाँ निक्षेप सुरक्षण शुल्क संकलन गरेको छ। कोषको तथ्यांक अनुसार बाणिज्य बैंकको निक्षेपकर्ताको निक्षेप सुरक्षण गरे बापत कोषले ३९ करोड १० लाख रुपैयाँ संकलन गरेको छ । समीक्षा अवधिमा विकास बैंकबाट पाँच करोड सात लाख रुपैयाँ संकलन गरेको छ । वित्त कम्पनीबाट ७५ लाख ८० हजार रुपैयाँ संकलन गरेको छ भने लघुवित्त कम्पनीबाट चारलाख ६६ हजार रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको कोषको तथ्यांकमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया