सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहने विदेशमा रहेका नेपाली कामदारले ३१९९ रुपैयाँ योगदान गर्नुपर्ने

0
Shares

नेपाल सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा जोडिन चाहने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले ३१९९ रुपैयाँ योगदान गनुपर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

यो योजना आगामी बैशाखदेखि सुरु हुने श्रम मन्त्री शेर बहादुर कुँवरले बताए । प्राविधिक तयारीको लागि ९० दिन राखिएको श्रम मन्त्री कुँवरले जानकारी दिए ।

श्रम मन्त्रालयले गत मंसिर ११ गते नै यो योजना घोषणा गर्ने तयारी गरेको थियो । तर, प्रतिनिधि सभा निर्वाचनका लागि मन्त्री कुँवर व्यस्त भएपछि घोषणाको प्रक्रिया लम्बिएको हो । यद्यपी सामाजिक सुरक्षा कोषले मंगलबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा घोषणा गर्ने भएको छ ।

मन्त्रालयले पारित गरेको कार्यविधि अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने भएको छ ।

नेपाल सरकारले औद्योगिक क्षेत्रको कामदारको न्यूनतम आधारभूत पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । जसमध्य ९ हजार ८९५ पारिश्रमिक र पाँच हजार १०५ रुपैयाँ भता तोकिएको छ । पारिश्रमिक वृद्धि भएसँगै योगदान रकम पनि बढ्नेछ ।

कार्यविधि अनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाको लागि ७.४८ प्रतिशत रकम विनियोजन गरिनेछ । वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५ प्रतिशत रकम विनियोजन गरिएको छ ।

वैदेशिक रोजगारमा रहेको श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योजनामा औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको बढीमा तीन गुणासम्म योगदान गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।