जीवन बीमाको पहिलो मर्जर सम्पन्न गर्दै सूर्या र ज्योति लाइफः पुस ७ गतेदेखि एकीकृत कारोबार

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनीबीच असार १२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएकोमा ६ महिनामा मर्जर सकेर एकीकृत कारोबार थाल्ने भएका हुन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले मंसिर २९ गते दुई कम्पनीलाई एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा अन्तिम स्वीकृति दिएको थियो । यस्तै नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाण्डौंले मंसिर २७ गते गाभिने कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको सम्पूर्ण सम्पत्ति र दायित्व हालको सूर्या ज्योति लाइफ इन्स्यारेन्सले व्यहोर्ने सकार्ने गरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा गाभिन स्वीकृति दिएको हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट मंसिर २ गते प्रारम्भिक स्वीकृति तथा नेपाल धितोपत्र बोर्डबाट मंसिर २५ गते स्वीकृति पाएको थियो । यसअघि कार्तिक २८ गते सम्पन्न भएको दुबै कम्पनीको छुट्टाछुट्टै साधारण सभाले सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता सेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता अनुपातमा मर्जरमा जाने र एकीकृत जीवन बीमा कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गर्ने प्रस्ताव पारित गरेको थियो ।

जीवन बीमा कम्पनीतर्फ यो पहिलो सम्पन्न भएको मर्जर हो । निर्जीवन बीमा कम्पनीतर्फ भने दुई वटा सफल मर्जर सम्पन्न भएर चार वटा कम्पनी दुई वटामा कायम भइसकेका छन् । जीवन बीमा कम्पनीतर्फ अन्य कम्पनीहरु पनि मर्जरमा रहेको भएपनि एकीकृत कारोबार गरिसकेका छैनन् ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । त्यस्तै ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ । स्वाप रेसियोका आधारमा ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड ५२ लाख ९० हजार कायम हुनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश वितरणपछि दुई कम्पनीले बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ कायम गर्नेछन् ।

एकीकृत कारोबार सञ्चालन प्रयोजनका लागि कम्पनीले डेटा माइग्रेसन र सिस्टम इन्ट्रिगेसन गर्नुपर्ने भएकोल पुस ६ गते बुधबार एक दिनका लागि बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा कारोबार गर्न प्रमाणपत्र प्राप्त कम्पनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका, वडा नम्बर ३० सानो गौचरनमा कर्पोरेट कार्यालय रहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर ७ मा रहेको छ ।

यस्तै गाभिने संस्था ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरमा कर्पोरेट कार्यालय रहेको छ । नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई बीमा समितिबाट जीवन बीमा कारोबार बीमकको प्रमाणपत्र प्राप्त गरेको सो कम्पनीको कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं ९ मा रजिष्टर्ड कार्यालय रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।