एनआईसी एशिया बैंकको साधारण सभा पुस २९ गते

0
Shares

एनआइसी एसिया बैंकले पुस २९ गते लाभांश प्रस्ताव बिना नै बैंकको २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  बैंक सञ्चालक समितिको पुस ६ गते बुधबार सम्पन्न भएको बैठकले होटल आनन्द प्रालि (आरोग्य हल), तिलगंगा, काठमाडौंमा बिहान ९ बजे बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजी कोष हरेक महिना कायम गर्न नसकेपछि गत आवबाट पनि एनआईसी बैंक लाभांश वितरण गर्न असफल भएको हो । अघिल्लो वर्ष सहित बैंकलाई लगातार दोस्रो वर्ष सेयरधनीलाई लाभांश वितरण गर्न रोक लगाइएको हो ।

वितरणयोग्य मुनाफा भएपनि धेरै कर्जा लगानीका कारण बैंकको पुँजीकोष गत आवमा साढे ८ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले सेयरधनीलाई लाभांश वितरणमा कडाई गरेपछि बैंकका लगानीकर्ताहरुको हात यो वर्ष पनि खाली भएको हो । अघिल्लो वर्ष पनि बैंकले चुक्ता पुँजीको २० प्रतिशत लाभांश प्रस्ताव गरेपनि केन्द्रीय बैंकले वितरण गर्न स्वीकृति दिएको थिएन ।

बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकले हरेक महिना पुँजी कोष अनुपात कायम गनए नसक्ने बैंकलाई लाभांश वितरणमा रोक लगाउने गर्दछ ।

साधारण सभाबाट गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा रहेको छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा उपर छलफल गरी पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस १८ गते सोमबारदेखि पुस २९ गते शुक्रबारसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई बैंकको सेयरधनी दर्ता किताबमा कायम रहने लगानीकर्ताहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।