व्यक्तिगत रुपमा नै रोजगारीका लागि युरोपियन मुलुक जान थाले नेपाली

0
Shares

पछिल्लो समय व्यक्तिगत रुपमा नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्न थालेको छ । विगत पाँच बर्षको अवधिमा करिब ६० हजार नेपालीले व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसरी जाने कामदारमध्ये अधिकांश युरोपियन मुलुक गएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार आर्थिक बर्ष २०७४/७५ देखि आव २०७८/७९ सम्ममा ५९ हजार ७८५ जना कामदारले वैदेशिक रोजगार विभागबाट व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर रोजगारीमा गएका छन् ।

मन्त्रालयको प्रतिवेदन अनुसार गत आवमा मात्रै २६ हजार ७४० ले यस्तो श्रम स्वीकृति लिएर विदेशिए । त्यस्तै, आव २०७७/७८ मा पाँच हजार ३१७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर विश्वका विभिन्न मुलुक पुगे । आव २०७६/७७ मा नौ हजार ६७१, आव २०७५/७६ मा नौ हजार १५१ र आव २०७४/७५ मा आठ हजार ९०६ जनाले यस्तो श्रम स्वीकृति लिएर विदेशएिका छन् ।

नेपाल सरकारले वैदेशिक रोजगारी जाने कामदारको लागि श्रम स्वीकृति अनिवार्य गरेको छ । कामदारले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्रै रोजगरीको लागि विदेश जान पाउने व्यवस्था छ । त्यस्तै, वैदेशिक रोजगार ऐनले विभागबाट अनुमति प्राप्त संस्थाले मात्रै रोजगारीको लागि कामदार पठाउने पाउने व्यवस्था गरेको छ ।

जस अनुसार म्यानपावर कम्पनीले गन्तब्य मुलकबाट कामदारको मागपत्र प्राप्त गर्नुपर्नेछ । सो मागपत्रलाई सम्बन्धित मुलुकमा रहेको नेपाली दुतावासले प्रमाणीकरण गर्नुपर्नेछ । प्रमाणीकरण पछि मात्रै म्यापावर कम्पनीले रोजगारदाताले माग गरे बमोजिम कामदार भर्ना प्रक्रिया अगाडी बढाउन सक्नेछन् ।

त्यस्तै, विभागले व्यक्तिगत रुपमा पनि रोजगारीमा जान सक्ने व्यवस्था गरेको छ । व्यक्तिगत रुपमा रोजगारीमा जान चाहने कामदारले रोजगारको लागि जान चाहेको मुलुक, विदेशमा गर्नुपर्ने कामको प्रकृति, रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र, रोजगारदाताका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौता पत्र, अभिमुखीकरण तालिम प्राप्त गरेको प्रमाणपत्र, निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । तर, कुनै पनि अनुमति प्राप्त म्यानपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउन भने पाउने छैन । पछिल्लो समयमा विभिन्न युरोपियन मुलुकहरुमा व्यक्तिगत श्रम स्वीकृति लिएर कामदार जान थालेका छन् ।

मन्त्रालयको प्रतिवेदन अनुसार गत आवमा क्रोशिया, लण्डन, जापान, पोल्याण्ड, रोमानिया, माल्टा, टर्की लगायतका मुलुकमा नेपालीले व्यक्तिगत रुपमा नै गए । तथ्यांक अनुसार गत आवमा तीन हजार ७२३ जना क्रोशिया गए । दुई हजार ६६६ बेलायत पुगे । दुई हजार ६५७ जना माल्दिभ्स, एक हजार ६९ जापान, एक हजार ४९१ पोल्याण्ड, एक हजार २४५ रोमानिया, एक हजार २२९ माल्टा, ७५८ टर्की पुगेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।