पाँच महिनाको व्यापार घाटा झण्डै ६ खर्ब, वैदेशिक व्यापार २२% ले घट्यो

0
Shares

चालु आर्थिक वर्षको ५ महिना अर्थात साउनदेखि मंसिरसम्ममा मुलुकको कूल व्यापार घाटा झण्डै ६ खर्ब रूपैयाँ पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत मंसिर मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रूपैयाँ नाघेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । जुन १८.७७ प्रतिशतले कमी हो ।

पाँच महिनाको अवधिमा देशको कूल व्यापार ७ खर्ब ३२ अर्ब बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल ६ खर्ब ६४ अर्बको आयात हुँदा ६७ अर्ब ३० करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ।

आर्थिक वर्ष २०७८।७९ को तुलनामा चालु आवको ५ महिनामा कूल व्यापार २२.२३ प्रतिशतले घटेको छ । गत आवमा कूल ९ खर्ब ४१ अर्ब ३२ करोड बराबरको व्यापार भएको थियो ।

गत आवमा ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालु आवको ५ महिनामा २०.७१ प्रतिशतले कमी आई ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।

यस्तै, गत आवको ५ महिनामा एक खर्ब २ अर्ब ९२ करोड बराबरको माल वस्तु निर्यात भएकामा चालु आवको ५ महिनामा ३४.६१ प्रतिशतले ओरालो लागेर ६७ अर्ब ३० करोड बराबरको वस्तु निर्यात भएको हो ।

नेपालले पाँच महिनाको अवधिमा आयातित वस्तुबाट १ खर्ब ५४ अर्ब १३ करोड ३६ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।