राष्ट्रिय वाणिज्य बैंकले पौने दुई अर्ब लाभांश वितरण गर्ने

0
Shares

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई पौने दुई अर्ब रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ ।

चुक्ता पुँजीमा ९९ प्रतिशत धेरै सरकारी स्वात्वि रहेको सो बैंकले चुक्ता पुँजीको साढे १२ प्रतिशत लाभा.श वितरण गर्ने भएको हो । बैंक सञ्चालक समितिको पुस ६ गते सम्पन्न बैठकले बैंकको हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९९ रुपैयाँ रहेको छ । यसबाट बैंकले ६९ करोड ७० लाख १७ हजार ९५५ रुपैयाँ बराबरको बोनस सेयर र १ अर्ब ४ करोड ५५ लाख २६ हजार ९३२ रुपैयाँ नगद गरी कुल १ अर्ब ७४ करोड २५ लाख ४४ हजार ८८७ रुपैयाँ लाभांश वितरण गर्नेछ ।

लाभांश पारित गर्न बैंकले पुस २८ गते १७ औं वार्षिक साधारण सभा समेत बोलाएको छ । बैंकको पुस ६ गतेको सञ्चालक समितिको बैठकले दरबारमार्ग स्थित बैंकको सभाहलमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षबाट प्रस्तावित चुक्ता पुँजीको साढे १२ प्रतिशत लाभांश अनुमोदन गर्नुका साथै नेपाल सरकारबाट यस बैंकको सेयर पूँजीमा लगानी बापत प्राप्त रकम १ अर्ब बैंकको जारी पूँजी र चुक्ता पूँजीमा थप गर्ने विषय समेत सभामा छलफल गर्नेछ ।

यस्तै आव २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।  स्वतन्त्र सञ्चालकको नियुक्ती सम्बन्धमा सभामा जानकारी गराईने प्रस्ताव बैंकको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि आरबिबिले पुस १८ गते सोमबार एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा पुस १७ गते आइतबारसम्म कायम सेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।