माग पूरा नभएसम्म वार्ता र आन्दोलन एकैसाथ अघि बढाउने नाडाको निर्णय

0
Shares

अटोमोवाइल व्यवसायीहरुको बृहत भेलाले व्यवसायीहरुले राखेको माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।

पौष ८ र ९ गते चितवनमा सम्पन्न अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीचको अन्तरक्रिया तथा छलफलले वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघि बढाउने निर्णय समेत गरेको छ ।

अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोश्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको नाडाका अध्यक्ष ध्रव बहादुर थापाले जानकारी दिए । नाडाले गत मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।

सो भेलाले बैंकहरुको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको, जोखिम भार र एल सी मार्जिन लगायतका विषयहरुमा समेत छलफल गरेको थियो । सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सिसि भन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको उनीहरुको भनाई थियो ।

उक्त कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरु रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकता बारे चर्चा गरका थिए ।

सोहि दिन बसेको नाडाको १३ औँ कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औँ वार्षिक साधारण सभा २०७९ साल माघ २७ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।