२० अर्ब निक्षेप बढ्दा पनि बैंकहरुको कर्जा लगानी ८० करोड मात्रै

0
Shares

बैंकहरुमा निक्षेप थपिने क्रम बढेको भएपनि कर्जा विस्तारले भने गति लिन सकेको छैन । चालु आर्थिक वर्षको पुस महिनाको पहिलो साता वाणिज्य बैंकहरुले २० अर्ब रुपैयाँ निक्षेप बढ्दा समेत ८० करोड रुपैयाँ मात्र कर्जा प्रबाह गरेका हुन ।

बैंकहरुले मंसिर महिनामा मात्रै ५७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । मंसिर महिनामा पनि बैंकहरुले २ अर्ब २ करोड रुपैयाँ मात्र लगानी गरेका थिए ।

उच्च ब्याजदरका कारण कर्जाको माग नहुनु तथा रेमिट्यान्स आप्रबाहमा आएको सुधारले निक्षेपमा सुधार बढोत्तरी आएको हो । त्यसैगरी बैंकहरुको ब्याजदरमा गिरावट नआएपछि ब्याज आम्दानीका लागि मुद्दती निक्षेपमा निक्षेपकर्ता आकर्षित भएकाले पनि निक्षेप थपिन मद्दत पुगेको छ ।

त्यसैगरी उच्च ब्याजदरका कारण कर्जाको मागमा कमी आएको स्पष्ट हुन्छ । त्यसका साथै बैंकहरुले कर्जा निक्षेप अनुपातको सीमा कायम गर्नका लागि कर्जा लगानीमा जोड नदिएको पनि देखिन्छ ।

पुनरकर्जा भुक्तानी, डिबेञ्चरलाई समेत निक्षेपमा गणना गर्न पाउने व्यवस्था हट्ने र कर भूक्तानी गर्नु पर्ने भएकाले कर्जा निक्षेप अनुपातमा दबाब पर्ने बैंकरहरुको भनाइ छ । त्यसैले पनि बैंकहरुले निक्षेप बढेको भएपनि कर्जा लगानी बढाउन नखोजेको देखिन्छ ।

मंसिर महिनामा औसत कर्जा निक्षेप अनुपात ८६.४ प्रतिशत रहेकोमा पुसको पहिलो सातामा झनै घटेर ८६.०६ प्रतिशतमा झरेको छ । पुस ८ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी सो अवधिसम्ममा कर्जा लगानी ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।