शेखर गोल्छाको हंसराज हुलासचन्द एन्ड कम्पनीको आम्दानीमा ३ अर्ब गिरावट

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको स्वामित्व रहेको हंसराज हुलासचन्द एन्ड कम्पनीको आम्दानीमा सन् २०२२ मा भारी गिरावट आएको छ ।

हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज ब्रान्डका दुई र तीन पाङग्रे सवारी साधनहरुको आधिकारिक बिक्रेता रहेको छ । पछिल्लो समयमा कम्पनीले केटिएम बाइकको बिक्री सुरु गरेको छ भने टीभिएस ब्रान्डका टायर, सर्भो लुब्रीकेन्टको पनि आधिकारिक रुपमा देशैभर बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । तर सन् २०२२ मा कम्पनीको आम्दानी १३ प्रतिशत अर्थात् ३ अर्ब २८ करोड ६० लाखले घटेर २२ अर्ब १३ करोड ७० लाखमा झरेको छ ।

कम्पनीका अधिकांश गतिविधिहरु चालु पुँजीमा निर्भर रहेका छन् । कुल सञ्चालन आम्दानीको २८ प्रतिशत कम्पनीको चालु पुँजी रहेको छ । चालु पुँजी उच्च रहेका कारण कम्पनीको कर्जामा पनि वृद्धि भएको छ । उच्च विन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका छन् । बैंकहरुमा तरलता अभावको समस्या रहेको छ । मुद्रास्फीति दर वृद्धि भई रहँदा दुई पाङ्ग्रे सवारी साधनको मागमा पनि कमी आएको छ । जसकारण कम्पनीको सञ्चालन आम्दानी प्रभावित हुन पुगेको छ ।

तथापि बजारमा बजाज तथा केटिएम बाइकको लोकप्रियता रहेका कारण आगामी समयमा कम्पनीको आम्दानीमा सुधार आउने देखिन्छ । नेपालको शीर्ष व्यापारिक घराना गोल्छा ग्रुपका शेखर गोल्छाको सेयर ५३.८ प्रतिशत रहेको छ । गोल्छा ग्रुप कम्पनीको प्रमोटर समेत रहेको छ ।

सन् १९५९मा स्थापना भएको हंसराज हुलासचन्द कम्पनीले सुरुवात देखि नै बजाज कम्पनीका दुई तथा तीन पाङ्ग्रे सवारी साधनहरुको बिक्री गर्दै आएको छ ।

कम्पनीका देशभर १५० वटा क्षेत्रिय बिक्रेताहरु रहेका छन् । युवा पुस्तामाझ लोकप्रिय बनेको केटिएम बाइकको पनि कम्पनी आधिकारिक बिक्रेता रहेको छ । काठमाडौँमा मात्रै कम्पनीले सञ्चालन गरेका दुई केटिएम बाइकको सोरुम र एक वटा बजाज ब्रान्डका बाइकहरुको सोरुम रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।