मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा‚ ५ वर्षमा वासलातको आकार २८६ अर्ब पुर्‍याउने लक्ष्य

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेड १७ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले आगामी पाँच वर्षमा बैंकले करिब साढे दुई गुणाले बढाएर वासलातको आकार २ खर्ब ८६ अर्ब पुर्याउने लक्ष्य लिएको छ ।

मुक्तिनाथ विकास बैंक १७ वर्षमा पुग्दा बैंकको वासलातको आकार १ खर्ब २१ अर्ब रहेको छ । जुन कुल विकासहरूकाे वासलातको आकारको २० प्रतिशतभन्दा धेरै हो । सञ्चालनमा रहेका १७ विकास बैंकको कुल वासलातको आकार ६ खर्ब रहेको छ । बैंकको शाखा कार्यालयको संख्या १७७ पुगेको छ ।

वार्षिक उत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्तिनाथ विकास बैंकले पन्चवर्षिय रणनीति अनुसार बैंकले विसं २०८४ असार मसान्तसम्ममा वासलातको आकार २ खर्ब ८६ अर्ब पुर्‍याउने लक्ष्य राखेको बताए ।

विगत पाँच वर्षमा लाभांशदर हेर्दा वाणिज्य बैंक १४.२४ प्रतिशत र राष्ट्रिय विकास बैंक १३.२९ प्रतिशत रहेकोमा मुक्तिनाथ विकास बैंकको १७.१९ प्रतिशत रहनु गर्वको विषय भएको बताए । मुक्तिनाथ विकास बैंक संस्थापकहरुको इच्छाभन्दा आवश्यकताको महसुस गरेर स्थापना गरेको बताउँदै उनले राम्रो काम गर्दा राम्रो प्रतिफल पाउने भएकाले बैंकले सोही अनुसार प्रगति गर्न सफल भएको उनको भनाई छ ।

सीइओ पोखरेले बैंकिङ्ग मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने काम गर्नुपर्छ भन्ने मान्यता राख्दै बैंकले अगाडि बढेकोे बताए । सीईओ पोखरेलले देशको आर्थिक समस्याको जड उत्पादनको कमी रहेको बताए । यसकै कारण नेपालीले आर्थिक तथा वित्तीय समस्या भोगिरहेको उनले बताए । नेपालीहरुले उपयोग गर्ने दशमध्ये ९ वटा वस्तुको आयातमा निर्भर रहेकाले त्यसलाई हटाउन बैंकले उत्पादनमा लगानी बढाउन आवश्यक रहेको उल्लेख गरे ।

बैंकले १ लाख यूरो धनराशीको युरोपियन माइक्रोफाइनान्स अर्वाड २०२०, एशियामा नै ग्लोबल एसएमई फाइनान्सियल अर्वाड २०२१, आईक्यानबाट २०१९ देखि लगातार तीन वर्षसम्म बेष्ट प्रोजेक्टेन एनुअल रिर्पोट अवार्ड र साउथ एशियन फेडरेसन अफ अकाउन्टस (साफा) बाट पनि पुरस्कार पाएको छ ।

यस्तै कार्यक्रममा बैंकका अध्यक्ष तथा पूर्व सीईओ भरत राज ढकालले सुरुका दिनमा बैंकहरुप्रति अविश्वास र अस्वस्थ प्रतिस्पर्धा भएपनि अहिले मुक्तिनाथ विकास बैंकको आफ्नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनेको बताए । उनले सिविफिन स्थापनाको तीन वर्ष अवधिमा सुरुमा राष्ट्र बैंकले गर्ने कारवाहीको बारेमा कुराकानी हुने गरेकोमा पछिल्लो समय खराब कर्जा बढ्दै गएकाले बैंकलाई कसरी बचाउने भन्ने विषयमा छलफल हुने गरेको बताए ।

वार्षिकोत्सको अवसरमा भर्चुअल माध्यमबाट बैंकका एकैसाथ १५ वटा शाखाको उद्घाटन गरिएको छ । प्रदेश १ मा एक, मधेश प्रदेशमा एक, वाग्मती प्रदेशमा पाँच, गण्डकीमा चार, लुम्बिनी चार स्थानको शाखा भर्चुअल माध्यमबाट समुद्घाटन भएको हो ।

वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ । उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष, वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।