सेयर बजारको स्थायित्वका लागि मार्केट इकोसिस्टमै सुधार आवश्यक : बोर्ड अध्यक्ष हमाल

0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारको दिगोपना र मुलुकको आर्थिक विकास लागि क्यापिटल मार्केटको इकोसिस्टममा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको २८ औँ वार्षिक साधारणसभा बोल्दै अध्यक्ष हमालले क्यापिटल मार्केटको इकोसिस्टममा सुधार नभए अर्थतन्त्र सुदृढ हुन नसक्ने जिकिर गरे । सेयर बजारको दिगोपनाका लागि उचित प्रतिस्पर्धा र बजार फेयर हुनुपर्ने उनको भनाई छ । बजारमा नयाँ ब्रोकर कम्पनीहरु भित्र्याउन खोजिएकोप्रति लक्षित गर्दै उनले यसले बजारलाई थप प्रतिस्पर्धी र दीगो बनाउने दाबी गरे ।

साथै उनले आर्थिक विकासका लागि लगानी जुटाउन महत्वपूर्ण रहेको क्यापिटल मार्केटको विकृति हटाउनुपर्ने आवश्यकता समेत औल्याए । प्रतिस्पर्धा गरेर रियल सेक्टरलाई बजारमा ल्याउनसके मात्रै दोस्रो बजारमा थप आकर्षण बढ्ने र बजारमा बलिया कम्पनीहरुको उपस्थिति बढ्न जाने उनको भनाई छ ।

बजारको दिगोपनाका लागि लगानीकर्ता सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आश्यकतामा जोड दिँदै उनले सचेतना कार्यक्रम औपचारिकतामा मात्र सिमित नभई रिजल्ट ओरेन्टेट हुनुपर्ने बताउँदै यसका लागि बोर्डले काम सुरु गरिसकेको समेत जानकारी दिए ।

साथै उनले ब्रोकर शाखाको अनुमति लिने प्रक्रियालाई बोर्डले सहज बनाउन लागेको बताए । ब्रोकरहरुले शाखा विस्तारका लागि निवेदन दिएको २१ दिन भित्रै अनुमति दिने व्यवस्था गर्न लागिएको र त्यसका लागि समिति गठन गरिएको हमालले जानकारी दिए।

कार्यक्रममा ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले सेयर बजार स्थापनाको २९ वर्षपुग्दा पनि अझै परिपक्क हुन नसकेको गुनासो गर्दै सबै पक्षले लगानीकर्ता सचेतनामा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले अहिले सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दै गएपनि सचेतनाको अभावमा गुणात्मक सुधार हुन नसकेको बताए । ब्रोकर र ब्रोकर शाखा विस्तार गर्दैमा मात्र बजारको विकास नहुने भन्दै उनले लगानीकर्ता सचेतनामा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले शेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँको सीमा हटाउनुपर्ने माग गरेका छन । शेयर कर्जा सहज नहुँदा व्यवसायिक लगानीकर्ताहरु पाखा लाग्नु परको अवस्था रहेको उल्लेख गर्दै उनले यसका लागि बोर्डले सहजीकरण गनुपर्ने बताए । पूँजी बजारलाई उद्योगको रुपमा विकास गर्नका लागि पनि समसामयिक रुपमा नीतिगत व्यवस्थाहरुमा सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।