ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु

0
Shares

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले आज पुस २५ गते सोमबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप प्रज्वलन गरि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । 

गत असार २ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई बैंकले ७ महिनाभित्रै एकीकृत कारोबार सुरु गरेका हुन् । यससँगै ग्लोबल आइएमईले बैंक अफ काठमाण्डू सहित कुल २१ वटा संस्थालाई मर्जर गरेको छ । ग्लोबल आईएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका हुन् ।

एकीकृत ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यसअघि ग्लोबल आइएमइको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ र बीओकेको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ थियो । बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ । बैंकको ग्राहक आधार ४० लाख पुगेको छ भने ११ सय सेवा केन्द्र पुगेको छ । दुई बैंकहरुको मर्जरसँगै ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु रहेका छन् ।

दुवै बैंक एक बराबर एक (१ः१) अनुपातमा मर्ज भएका हुन् । एकीकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते र नेपाल राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति दिएका थिए । गत मंसिर २३ गते सम्पन्न दुबै बैंकको छुट्टाछुट्टै साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

मर्जरपछि एकीकृत कारोबार आरम्भ कार्यक्रममा बैंक अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक अफ काठमाण्डूसँगको मर्जरपछि ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो र नम्बर वान भएको दाबी गरे । नेपालको कुल वित्तीय बजारको ८ प्रतिशत हिस्सा बैंकले ओगटेको उनको भनाई छ । सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैँ पहिलो हुने बताएका ढकालले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोकृष्ट बैंक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मर्जरपश्चातकाे एकीकृत बैंकमा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य प्रमुख कार्यकारी अधिकृत (सीइओ)  र बैंक अफ काठमाण्डुका सीईओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत डिसिईओ बनेका छन् । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डुकातर्फबाट दुई जना रहने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।