मुलुकभित्र रोजगारीका क्षेत्र धरासयी भएपछि नेपाली युवा वैदेशिक अध्ययन र रोजगारीमा

0
Shares

कोरोना माहामारीले बन्धक बनेका नेपाली युवाहरु वैदेशिक अध्ययन र रोजगारीमा जान सुरु गरेका छन् । महामारीका कारण सबै मुलुकले हवाई यातायात तथा विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको थियो । फलस्वरुप मानिसहरुको वैदेशिक अध्ययन, रोजगारी तथा यात्रामा पूर्णविराम लागेको थियो।

कोभिड महामारी नियन्त्रण हुँदै गएपछि गन्तब्य मुलुकहरुले पनि विदेशमा नागरिकको प्रवेशलाई खुल्ला गर्न थालेका छन् । लामो समयदेखि रोकिएका कारण अहिले वैदेशिक अध्ययन र रोजागारीमा जाने नेपाली युवाको संख्या उच्च रुपमा बढेको विभागले जनाएको छ।

त्यस्तै, कोभिड मुलुक भित्रैको रोजगारीका क्षेत्र पनि धरासयी भएपनि मानिसहरु वैदेशिक रोजगारीमा जान थालेको विभागको ठम्याइ छ।

पाँच महिनामा ३८ हजारले लिए वैदेशिक अध्ययन अनुमतिपत्र

चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा वैदेशिक अध्ययनका लागि ३८ हजार ६१ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिएको शिक्षा मन्त्रालयको तथ्याङ्क छ ।

कोभिड नियन्त्रण हुँदै गएपछि सबै मुलुकले विदेशी विद्यार्थीलाई प्रवेश गर्ने प्रक्रिया खुकुलो बनाएपछि नेपाली विद्यार्थीको पनि आकर्षण बढेको मन्त्रालयको भनाई छ । चाडपर्व र चुनावी माहोलको समयमा समेत विदेश अध्ययनमा जान चाहने नेपाली युवामा कमी नआएको तथ्याङ्कले देखाएको छ ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार अष्ट्रेलियाका लागि १० हजार ७९९ विद्यार्र्थीले एनओसी लिए । त्यस्तै, जापानमा अध्ययनका लागि एनओसी लिनेको संख्या ६ हजार ६२६ छ । क्यानडाका लागि ६ हजार ५३१ विद्यार्थीले एनओसी लिए । बेलायतका लागि ५ हजार ३०४, भारतका लागि १ हजार ९०, अमेरिकाका लागि १ हजार ५५९, रसियाका लागि ९७२ र दक्षिण कोरियाका लागि ७४४ विद्यार्थीले एनओसी लिए । यो अवधिमा जम्मा ५९ देशमा अध्ययनका लागि एनओसी लगेको मन्त्रालयले जनाएको छ ।

एनओसी जारी गरेर मन्त्रालयले पाँच महिनामा ८ करोड २१ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा १ हजार ५५८ जनाको एनओसी रद्द भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा शिक्षा मन्त्रालयबाट कुल १ लाख १४ हजार ४२९ जनाले एनओसी लगेका थिए ।

वैदेशिक रोजगारीमा जान्छन् दैनिक १४ सयदेखि २ हजार युवा

कोभिडपछि दैनिक १ हजार ४०० देखि २ हजार युवा वैदेशिक रोजगारीमा जान थालेका छन् । वैदेशिक रोजगारी विभागको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनाको अवधिमा १ लाख ४४ हजार ४५६ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् ।

गत साउन महिनामा ४२ हजार ७२९ जनाले वैदेशिक रोजगारीका लागि विभागबाट श्रम स्वीकृति लिए । विभागका अनुसार ३८ हजार २०० पुरुष र ४ हजार ५२९ महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

भदौ महिनामा ५७ हजार ६९३ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । जसमध्ये ५१ हजार ५७३ पुरुष र ६ हजार १२० महिलाले स्वीकृति लिए । असोज महिनामा भने ४४ हजार ३४ युवाले श्रम स्वीकृति लिएर विदेश गए । जसमध्ये ४० हजार ९७ पुरुष र तीन हजार ९३७ महिला थिए ।

गत आर्थिक वर्ष ३ लाख ४८ हजार ८६८ नेपाली कामदार वैदेशिक रोजगारीमा पुगेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।