प्लाटिनम मार्केटिङको कारोबार साढे ३ अर्ब, ५४ प्रतिशतको वृद्धि

0
Shares

सन् २०२२ मा प्लाटिनम मार्केटिङ कम्पनीले ३ अर्ब ४५ करोड ८० लाखको आम्दानी गरेको छ । गत वर्षको तुलनामा कम्पनीको आम्दानी ५४ प्रतिशतले वृद्धि भएको हो ।

सन् २०२१ मा २ अर्ब २३ करोड ८० लाख रहेको सञ्चालन आम्दानी बढेर ३ अर्ब ४५ करोड ८० लाख पुगेको हो । कम्पनीको आम्दानीमा आकर्षक वृद्धि देखिएता पनि अन्य वित्तीय सूंचाक कमजोर रहेका छन् । चालु खर्चमा भएको वृद्धिका कारण सूचांकहरु कमजोर देखिएका छन् ।

सन् २०२२ मा आर्जन गरेको कुल आम्दानीको ३६ प्रतिशत हिस्सा चालु खर्चले ओगटेको छ । यस्तै कम्पनीले कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.५४ गुणा मात्रै रहेको छ ।

सन् २०११ मा स्थापना भएको प्लाटिनम मार्केटिङ प्रालिले कोल, स्टील, जिप्सम, बिटुमीन, सिमेन्ट, एमएस प्लेट, वायर लगायतका विविध निर्माण सामाग्रीको आयात गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कोलको बिक्रीबाट ७४ प्रतिशत र स्टीलका सामाग्रीको बिक्रीबाट २५ प्रतिशत आम्दानी गर्दै आएको छ।

कम्पनीका ग्राहकहरु मुख्यतः सिमेन्ट उद्योग, स्टील तथा रोलिङ स्पीनिङ उद्योगहरु रहेका छन् । कम्पनीले बिक्री गर्ने सामाग्रीहरुको विविधिकरण, उद्योगहरुको सङ्ख्यामा वृद्धि भएसँगै स्टील तथा सिमेन्ट सामाग्रीको मागमा भएको वृद्धिका कारण कम्पनीको आम्दानीको ग्राफ निरन्तर उकालो लागेको छ ।

तथापि अन्तराष्ट्रिय बजारमा स्टील सामाग्रीको मूल्यमा भएको वृद्धि, कमजोर प्रर्दशन गरिरहेको नेपाली मुद्रा, उच्च चालु पुँजी खर्च र कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले बिना धीतो लगानी गरिरहेका छन् । सुरक्षित लगानीको संयन्त्र निर्माण गर्न नसक्नु कम्पनीको दुर्बल पक्ष रहेको छ ।

कम्पनीमा राजेश र्कनानी र उनकी पत्नीको लगानी रहेको छ । १ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको आम्दानीमा सुधार आएता पनि चालु पुँजी खर्चमा भएको वृद्धिका कारण अन्य वित्तीय सूचांक कमजोर देखिदा एजेन्सीले यस अघि गरेको ए४ प्लस रेटिङ घटाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।