एलआईसी नेपालमा भारत सरकारले एक अर्ब २९ करोड थप लगानी गर्ने

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडमा भारतीय सरकारले एक अर्ब २९ करोड रुपैयाँ थप लगानी गर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न भारत सरकारले पुँजी थप गर्ने निर्णय गरेको हो । रकम आगामी चैत महिनासम्ममा कम्पनीमा हस्तान्तरण भै सक्ने प्राधिकरणले जनाएको छ ।

एलआईसी नेपालमा भारत सरकारको स्वामित्वमा सञ्चालित भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत लगानी छ । नेपालको बिशाल समूहको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी छ ।

प्राधिकरणले आगामी चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ कायम गर्न निर्देशन दिएको छ । प्राधिकरणले पुँजी कायम गर्न कम्पनीहरुलाई बोनश, मर्जर र सञ्चालकले पुँजी थप गर्न पाउने विकल्प दिएको थियो । तर, नगद लाभांश वितरणमा भने रोक लगाएको छ ।

तर, एलआईसी नेपालको हकमा भने प्राधिकरणले नगद लाभांश वितरणको छुट दिएको छ । एलआईसी जोइन्ट भेन्चरमा खोलिएको कम्पनी भएकै कारण नगद लाभांशको सुविधा दिइएको प्राधिकरणले जनाएको छ । यो व्यवस्थाले नेपालमा विदेशी लगानी भित्रने भएकाले प्राधिकरण लचिलो भएको हो ।

एलआईसी नेपालले ८८.४५ प्रतिशत (दुई अर्ब ३४ करोड ६८ लाख) हकप्रद सेयर बिक्री गर्ने भएको छ । हकप्रदमा आफनो हिस्साको रकम भारत सरकारले थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै, विशाल समूहले ५८ करोड ६७ लाख रुपैयाँ थप्नेछ भने सर्वसाधारणबाट ४६ करोड ९३ लाख ५९ हजार रुपैया संकलन गर्नेछ । हकप्रद पछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुग्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । जसमा भारतीय जीवन बीमा निगमको एक अर्ब ४५ करोड ९२ लाख रुपैयाँ लगानी छ । विशाल समूहको ६६ करोड ३३ लाख छ भने सर्वसाधारणको ५५ करोड ५ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।