यति एयरलाइन्स दुर्घटनाको ८६ करोड रुपैयाँ बढीको बीमा दाबी पर्ने अनुमान

0
Shares

आइतबार पोखरामा भएको यति एयरलाइन्स दुर्घटनाको ६६ लाख ४० हजार अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार ८६ करोड ३२ लाख रुपैयाँ) भन्दा बढीको बीमा दाबी पर्ने अनुमान गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट्र इन्स्योरेन्स कम्पनीले जहाज, यात्रु, क्रु मेम्मर र तेस्रो पक्षको बीमा गरेको छ ।

प्राधिकरणका अनुसार जहाजको मात्रै करिब ५० लाख अमेरिकी डलर (६५ करोड रुपैयाँ) बराबरको बीमा भएको छ । त्यस्तै, पाइलट र को पाइलटको एक÷एक लाख अमेरिकी डलर (दुई करोड ६० लाख रुपैयाँ) बीमा गरिएको छ । त्यस्तै, एयरहोस्टेजको ४० हजार अमेरिकी डलरको बीमा भएको छ । जहाजमा दुई एयरहोस्टेज थिए । जस अनुसार कम्पनीले दुई एयरहोस्टेजको ८० हजार अमेरिकी डलर (एक करोड ४ लाख रुपैयाँ) बराबरको बीमा गरेको छ ।

त्यस्तै, यात्रुको प्रति व्यक्ति २० हजार अमेरिकी डलर बराबरको बीमा भएको छ । जहाजमा ६८ जना यात्रु थिए । जस अनुसार यात्रुको मात्रै १३ लााख ६० हजार अमेरिकी डलर (१७ करोड ६८ लाख रुपैयाँ ) बराबरको बीमा भएको छ । त्यस्तै, तेस्रो पक्षको भने दाबी स्पष्ट भै सकेको छैन ।

दुर्घटना पछि हिमालयन एभरेष्ट्रले विदेशी सर्भेयर परिचालन गरेको छ । कम्पनीले युरोपका विभिन्न पुर्नबीमा कम्पनीसँग पुर्नबीमा गरेको छ । यस्तो खालको दुर्घटनामा पुर्नबीमा कम्पनीले तोकेको सर्भेयर र नेपाली सर्भेयरको सहकार्यमा सर्भे गरिन्छ ।

आइतबार काठमाडौबाट विहान १०.३२ बजे पोखराको लागि उडेको यति एयरलाइन्सको एनवाइटि ६९१, ९एन–एएनसी जहाज विहानमा १०.५० पोखराका स्थित सेती खोचमा दुर्घटना भएको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार दुर्घटना भएको जहाजमा चालक दल सहित ७२ यात्रु सवार थिए । जसमा २५ जना महिला, ३७ पुरुष, तीन जना बालक र तीन जना शिसु थिए । दुर्घटनामा सबैको मृत्यू भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।