नियामकीय मापदण्ड पूरा नगर्ने ६ विकास बैंक र ४ फाइनान्स कारबाहीमा, डेढ करोड हर्जना

0
Shares

नेपाल राष्ट्र बैंकले ८ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई नियामकीय मापदण्ड पुरा नगरेपछि आर्थिक जरिवाना गरेको छ । विकास बैंक र फाइनान्स कम्पनीले अनिवार्य नगद मौज्दात, विपन्न वर्ग कर्जा र कर्जा निक्षेप अनुपात तोकिए अनुसार कायम गर्न नसकेपछि केन्द्रीय बैंकलाई जरिवाना तिरेका हुन ।

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी नगद सञ्चिति अनुपात ४ प्रतिशत र “इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५.० प्रतिशत विपन्न वर्गमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जाको सीमा नपुर्याएको भन्दै एक लाख ५२ हजार ९ सय २९ रुपैयाँ नगद जरिवाना गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल कर्जाको ५ प्रतिशत विपन्न वर्गमा कर्जा लगानी नगरेपछि जरिवाना तिर्नु परेको हो ।

त्यसैगरी कर्णाली विकास बैंकलाई चालु आर्थिक वर्षको पहिलो त्रैमाको साउन र भदौ महिनामा नगद सञ्चिति अनुपात कायम नगरेपछि केन्द्रीय बैंकले करिब ३३ हजार रुपैयाँ जरिवाना गरेको छ । सो शिर्षकमा सालपमा विकास बैंकलाई समेत केन्द्रीय बैंकले आर्थिक जरिवाना गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा धेरै भएपनि ४ विकास बैंकलाई आर्थिक जरिवान गरेको छ । केन्द्रीय बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई साउनमा २० लाख १३ हजार र भदौमा २३ लाख १४ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको छ ।

साथै सिन्धु विकास बैंकले पनि साउनमा एक लाख २६ हजार र भदौमा करिब १७ लाख रुपैयाँ कर्जा निक्षेपको सीमा नाघेपछि जरिवाना तिरेको छ ।

त्यसैगरी नारायणी विकास बैंकले पनि साउन र भदौ महिनामा कर्जा निक्षेप अनुपातको सीमा नाघेपछि कुल साढे ९ लाख रुपैयाँ हर्जना तिरेको छ । सप्तकोशी डेभलपमेन्ट पनि कर्जा निक्षेप अनुपातको सीमा कायम गर्न नसकेपछि साउनमा २१ लाख ८० हजार र भदौ महिनामा २८ लाख ९७ हजार रुपैयाँ हर्जना तिरेको छ ।

चालु आवको पहिलो महिनामा प्रोग्रेसीभ फाइनान्सले नगद सञ्चिति अनुपात कायम नगर्दा २३ हजार रुपैयाँ जरिवाना केन्द्रीय बैंकलाइ तिरेको छ ।

त्यसैगरी कर्जा निक्षेप अनुपात तोकिएको सीमा माथि भएपनि नेपाल फाइनान्सले साउनमा १९ हजार र भदौमा एक लाख ६५ हजार, जानकी फानान्सले साउनमा ६ लाख ५५ हजार र भदौ महिनामा ६ लाख ३७ हजार रुपैयाँ जरिवाना तिरेका छन भने समृद्धि फाइनान्सले भदौ महिनामा साही शिर्षकमा करिब ८१ हजार रुपैयाँ जरिवाना तिरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।