‘क्यापिटल प्लान’ नबुझाउने चार बीमा कम्पनीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

0
Shares

क्यापिटल प्लान नबुझाउने चार बीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण सोधेको छ । चुक्ता पुँजी पुर्याउने मिति नजिकिदै गर्दा कम्पनीहरुले पुँजी वृद्धिको लागि कुनै पनि प्रक्रिया अगाडी नबढाए पछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

प्राधिकणले बुधबार नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सलाई प्राधिकरणमा बोलाएर छलफल गरेको थियो । छलफलमा कम्पनीका प्रतिनिधिले अझै पनि निश्चित योजना नखुलाएको प्राधिकरणले जनाएको छ ।

उनीहरुले कम्पनी सञ्चालकसँग छलफल गरी उचित निर्णय लिने बताएको प्राधिरकरणले जनाएको छ । त्यस्तै, मर्जरको लागि उचित पार्टनरको खोजी भै रहेको समेत उनीहरुले बताएको प्राधिकरणले जनाएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको हकमा भने कम्पनीको माउ कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले नै पुँजी थप गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको चालु आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासम्मको तथ्यांक अनुसार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणले तोकेको पुँजी कायम गर्न अब कम्पनीले ६८ करोड रुपैयाँ थप गर्नुपर्नेछ ।

नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब ४८ करोड रुपैयाँ पुँजी छ । अब कम्पनीले एक अर्ब २ करोड थप गर्नुपर्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सको पुँजी एक अर्ब २५ करोड रुपैयाँ पुँजी छ । कम्पनीले अब एक अर्ब २४ करोड रुपैयाँ थप गर्नुपर्नेछ । एनएलजी इन्स्योरेन्सको एक अर्ब ४५ करोड रुपैयाँ छ । कम्पनीले अब एक अर्ब चार करोड रुपैयाँ थप गर्नुपर्नेछ ।

प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई दुई अर्ब ५० करोड रुपैयाँ पुँजी तोकेको छ । कम्पनीहरुले आगामी चैत्र मसान्तसम्ममा पुँजी कायम गरि सक्नुपर्नेछ । पुँजी जुटाउनका लागि कम्पनीले मर्जरमा जान सक्ने, पुँजी थप गर्न सक्ने र बोनश शेयर जारी गर्न सक्ने विकल्प दिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।