कृषि विकास बैंक ५६ औँ वर्षमा प्रवेश

0
Shares

कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि २०६२ असारदेखि कृषि विकास बैंक पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । नेपाल राष्ट्र बैंकबाट २०६२ चैतदेखि वाणिज्य बैंकका रुपमा इजाजत पाएको यो बैंकमा ५१ प्रतिशत शेयर सरकार र ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ ।

संस्थापक शेयरधनीका रुपमा सरकारको रू छ अर्ब ७२ करोड ५८ लाख र सर्वसाधारण सेयरधनीको रू छ अर्ब ४६ करोड २० लाख बराबर शेयर छ ।
कृषि विकास बैंकले हालसम्म एक लाख ६२ हजार ग्राहकमा रू एक खर्ब ७८ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।

यस्तै बैंकमा १८ लाख निक्षेपकर्ताको रू एक खर्ब ७० अर्ब निक्षेप छ । बैंकको अधिकृत पुँजी रू २५ अर्ब, जारी पुँजी रू १८ अर्ब ६२ करोड ६ लाख र साधारण चुक्ता पुँजी रू १३ अर्ब १८ करोड बराबर छ ।

चालु आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कर्जा तथा सापट करिब रू दुई खर्ब एक करोड र कूल निक्षेप रू एक खर्ब ८६ अर्ब ४८ करोड वृद्धिमार्फत वैधानिक कर्जा–पुँजी–निक्षेप अनुपात ९० प्रतिशतभित्र कायम गर्ने लक्ष्य बैंकले लिएको छ । 

त्यस्तै चालु आर्थिक वर्षको छ महिना अवधिमा बैंकको तरलता अनुपात १५ दशमलव २७ प्रतिशत र निष्क्रिय कर्जा एक दशमलव ६८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ का लागि कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस शेयर शेयरधनीलाई दिने निर्णय गरिसकेको छ ।

सरकारको नीति तथा कार्यक्रमअनुसार ब्याज अनुदान सहुलियत कर्जा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवालाई परियोजनामा आधारित सहुलियत कर्जा, महिला उद्यमशील कर्जा, प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जालगायत क्षेत्रको कर्जालाई प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।