आइएमई जनरल इन्स्योरेन्सले अनलाइन बीमालेख खरिद सेवा प्रदान गर्ने

0
Shares

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने भएको छ । कम्पनीको माघ ९ गते सोमबार काठमाण्डौँमा सम्पन्न २५ औं वार्षिक साधारणमा उक्त घोषणा गरिएको हो ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराउँदै शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गरिने बताए । उनले आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने बताए ।

अध्यक्ष ढकालले समीक्षा बर्ष देखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए । देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको उनको भनाई थियो ।

अध्यक्ष ढकालले २४ औं साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशन बमोजिम अगाडी बढिरहेको समेत सभालाई जानकारी गराए । बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको उल्लेख गरे ।

बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको भन्दै आगामी दिनहरुमा डिजीटलाइजेसनको माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडि बढी रहेको बताए ।

साथै कम्पनीको साधारण सभाले गत आवको नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुकक्लोज अनुसार उक्त लाभांश पुस २६ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र पाउनेछन् ।

कम्पनीले आ.व. २०७७/७८ मा एक अर्ब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १ अर्ब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरी गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराए । चालु आ.व.को पुस मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख बीमाशुल्क आर्जन गरिसकेको छ ।

श्रेष्ठले नियमनकारी निकायको निर्देशन सहित लघु बीमा, कृषि तथा पशु बीमा लगायत पारिवारिक स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पुर्‍याउनको लागि ७ वटै प्रदेशहरुमा रहेका शाखाहरु मार्फत सेवा विस्तार गरेको पनि जानकारी गराए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।