सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्दै तोड्यो सबै रेकर्ड

0
Shares

सुनको मूल्य मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्म कायम भएको सबै रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ हजारले बढेर प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको हो । यो भाउ हालसम्मकै उच्च हो । आज कायम भएको भाउ यसअघिको रेकर्डभन्दा ८०० रुपैयाँ महङ्गो हो । यसअघि २०७८ फागुन २५ गते हालसम्मकै उच्च भाउमा सुन किनबेच भएको थियो । उक्त दिन छापावाल सुन १ लाख ५ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । सोमबार प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुन १ लाख ५ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको छ । हिजो सोमबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १९३२ तथा चाँदी २३.५४ डलर हाराहरीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।