राष्ट्रिय वाणिज्य बैंक कुनै पक्षमा कमजोर छैन : सीइओ श्रेष्ठ

0
Shares

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक निजी तथा संयुक्त लगानीका बैंकसँगको तुलनामा कुनै पक्षमा कमजोर नरहेको दाबी गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक ५८औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा सीइओ श्रेष्ठले व्यवहार र प्रतिफलबाट पूर्ण सरकारी स्वामित्वको बैंक भएतापनि निजी तथा संयुक्त लगानीको बैंकसँग कुनै पक्षमा कम नरहेको बताएका हुन ।

अहिले बैंकहरुको मर्जर प्रक्रियाले तिब्रता पाएको छ । मर्जरले बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्र्दभमा राष्ट्रिय वाणिज्य बैंकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्ने जानकारी दिए । पछिल्ला वर्षमा वित्तीय सूचकांक र व्यवस्थापनमा उल्लेख्य सुधार गरको दाबी गर्दै संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक कार्यहरु संचालन गरिने बताए ।

बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि-ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको जानकारी दिँदै एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको श्रेष्ठको भनाइ छ ।

हाल बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी २ सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप दुई खर्ब ८२ अर्ब, कर्जा दुई खर्ब ३४ अर्ब र नेटवर्थ ३४ अर्ब ३४ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप तीन खर्ब, कुल कर्जा दुई खर्ब ५८ अर्ब, मुनाफा चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्‍याउने पनि बैंकको लक्ष्य छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवा समेत सुरु गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।