नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गर्न सरकारी बैंकलाई अर्थमन्त्रीको निर्देशन

0
Shares

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी बैंकलाई नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन् ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री पौडेलकाले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने उल्लेख गरे । वार्षिकोत्सको अवसरमा उनले राष्ट्रिय वाणिज्य बैंकलाई संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टचारमुक्त र शुन्य सहनशिलता नीति अपनाउन सुझाव दिए । सरकारी बैंकको सेवा प्रवाह सहज हुनुपर्ने र निजी बैंकसँग प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि बताए ।

अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंकको भूमिका सकारात्मक रहने उनको भनाई थियो । अहिले पनि कुल जनसंख्याको ३५ प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेकाले तिनलाई बैंकिङ पहुँचमा ल्याउन सरकारी बैंकले प्राथमिकता दिनुपर्ने मन्त्री पौडेलको भनाई थियो ।

सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले मुनाफामा मात्रै केन्द्रित नभई आमसर्वसाधारणको हितमा काम गर्नुपर्ने पनि पौडेलले बताए । नाफामा भन्दा पनि गुणस्तरीय सेवा दिने बैंकका रूपमा वाणिज्य बैंकले काम गर्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

“सरकारी लगानीको बैंकको उद्देश्य मुनाफा आर्जन गर्ने मात्र होइन । तपाईँहरूले आफ्नो स्रोत साधनलाई सही ढङ्गले परिचालन गरेर विपन्न वर्गसम्म कर्जा पुर्‍याउन आवश्यक छ । उत्पादनशील क्षेत्रमा लगानी बढाएर आर्थिक विकासका लागि बैंकले भूमिका खेल्नुपर्छ”, राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्रीले भने । सरकारी बैंकलाई प्रतिस्पर्धी बनाउन अझ नयाँ ढङ्गले आफ्नो व्यावसायिक यात्रा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उनले अहिलेको अर्थतन्त्रलाई ध्यानमा राखेर सार्वजनिक संस्थाले खर्च कटौती गर्नुपर्ने पनि बताए । नेपाली अर्थतन्त्रमा केही चाप, समस्या र चुनौती भएकोले सार्वजनिक संस्थाले पनि खर्च कटौती गर्नुपर्ने उनको भनाई छ ।

अहिले मुलुकको आर्थिक अवस्था नाजुक रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब सरकारले आफ्नो काम द्रुत गतिमा अघि बढाउने समेत बताए । “पुँजीगत खर्च कम छ । तरलता अभाव छ । ब्याजदर वाञ्छित सीमाभित्र राख्नुपर्ने अवस्था छ । अर्थतन्त्रमा अनेकौँ चुनौती भोग्नुपरेको छ तर अहिले सरकार बनेको मात्रै छ । ड्राइभिङ सिटमा बसेको मात्रै छ । कामकाज सञ्चालन गर्नै बाँकी छ”, उनले भने । चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत रहेको पनि पौडेलले बताए ।

अर्थमन्त्री पौडेलले सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपमुक्त हुन आवश्यक रहेको बताए । स्वामित्वका संस्थानलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै उनले सरकारले यस्तो हस्तक्षेप नगर्ने पनि जनाए । “सार्वजनिक संस्थानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन जरुरी छ । हिजोका दिनमा के भयो भनेर आजको मानसिकता बनाउन हुँदैन । सरकारका तर्फबाट कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुँदैन । यदि हस्तक्षेप भएको पाउनुभयो भने तपाईहरुसँग आँखामा आँखा जुधाएर म त्यसको जवाफ दिन तयार छु”, अर्थमन्त्री पौडेलले भने ।

सार्वजनिक खर्च कटौतीलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै पौडेलले संस्थानले पनि खर्चमा मितव्ययिता अपनाउनुपर्ने बताए । “मन्त्री, मन्त्रालय र सरकारी कार्यालयले मात्रै होइन सार्वजनिक संस्थानले पनि खर्च कटौती गर्नुपर्ने अवस्था आएको छ । काममा पारदर्शिता, जवाफदेहिता, व्यावसायिक दक्षता र इमान्दारिता हुनुपर्छ । भष्ट्राचारमा सबैले शून्य सहनशीलताको नीति अवलम्बन गरौँ”, उनको भनाइ छ ।

कार्यक्रका प्रमुख अतिथि पौडेलले कार्यक्रममा परिष्कृत गरिएको मोवाइल बैंकिङ्गकलाई आरबिबि डिजिटल संसार एप्सको शुभारम्भ गरेका थिए ।बैंकको ५८ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७९ विमोचन गरेका थिए । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।