प्रभु ग्रुपको नेपाल सीपिङले गर्यो साढे ४९ करोडको कारोबार

0
Shares

प्रभु ग्रुपको लगानी रहेको नेपाल सीपिङ एन्ड मल्टि मोडल ट्रान्सपोर्टले सन् २०२२ मा ४९ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा ३२ प्रतिशतले बढेको हो । सन् २०२१ मा कम्पनीले ३७ करोड ४० लाख बराबरको कारोबार गरेको थियो ।

सन् २०१८ मा स्थापना भएको नेपाल सीपिङ एन्ड मल्टि मोडल ट्रान्सपोर्टले अन्तराष्ट्रिय ढुवानी तथा कन्टेनर लाइनर र बल्क तथा ब्रेकबल्क सेग्मेन्टमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले एक देशबाट पठाएको वस्तु तथा सामान अर्को देशमा सावधानी पूर्वक ढुवानी गर्दै आएको छ ।

कम्पनीका ३५३ वटा लिजमा लिएका कन्टेनर सहित कुल ९४३ कन्टेनर रहेका छन् । ती कन्टेनरको क्षमता प्रति युनिट २० फूट र ४० फूट बराबर रहेको छ । कम्पनीले विभिन्न देशका ३७ कम्पनीहरुलाई सीपिङको सुविधा प्रदान गर्दै आएको छ । २२ भन्दा बढी देशहरुमा सीपिङ तथा मल्टि मोडल ट्रान्सपोर्टको सेवा प्रदान गर्दै आएको कम्पनीले ४३ समुद्री बन्दरगाहमा काम गर्दै आइरहेको छ ।

नन्–भेसल अपरेटिङ कमन बेरियर प्रणालीबाट सञ्चालनमा आएको कम्पनीले पूर्ण कन्टेनर लोड ढुवानी, कन्टेनर लोड भन्दा कम ढुवानी, कस्टम क्लीयरेन्स, कार्गो ट्रयाक एन्ड ट्रेस साथै आन्तरिक हवाइ तथा बाइरोडबाट नै ढुवानी सेवा प्रदान गरिरहेको छ ।

स्थापनाको छोटो समयमा कम्पनीको वित्तीय सूचांक सकरात्मक देखिएता पनि कम्पनी सुरुवाती चरणमा नै रहेको छ । कम्पनीसँग आफ्नै जहाज नरहेका कारण कन्टेनर मार्फत वस्तुको ढुवानी गर्नु दीर्घकालीन रुपमा आम्दानीमा कमी आउने देखिन्छ ।

यस्तै नन्–भेसल अपरेटिङ कमन बेरियर प्रणालीबाट ढुवानी सेवा प्रवाह गरिरहेको कम्पनीले विभिन्न देशको इम्पोर्ट–एक्सपोर्टको नियममा रही काम गर्नुपर्ने हुन्छ । साथै नेपालमा कार्गो तथा अन्तराष्ट्रिय ढुवानीका सम्बन्धमा कुनै स्पष्ट नियम कानुन बन्न नसक्नुले कम्पनीको जोखिम बढाएको छ ।

कम्पनीमा प्रभु ग्रुपका देवी प्रकाश भट्टचनको ५५ प्रतिशत लगानी रहेको छ भने सिम्पल होल्डिङ्स प्रालिको लगानी ३४ प्रतिशत रहेको छ । प्रभु ग्रुप कम्पनीको प्रमोटर रहेको छ । कम्पनीका अध्यक्ष प्रभु ग्रुपकै देवी प्रकाश भट्टचन रहेका छन् ।

६५ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सले ४५ करोड ८९ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र १९ करोड १० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।