पतञ्जलि आर्युवेदको वार्षिक कारोबार साढे एक अर्ब

0
Shares

पतञ्जलि आर्युवेदले सन् २०२२ मा १ अर्ब ५० करोड २० लाख (अपरिष्कृत) बराबरको कारोबार गरेको छ ।

सन् २०२१ मा कम्पनीले १ अर्ब २५ करोड ९० लाख बराबरको आम्दानी गरेको थियो । सो वर्षको तुलनामा कम्पनीको सञ्चालन आम्दानी १९ प्रतिशतले बढेको हो।

कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएता पनि कम्पनीका अन्य वित्तीय सूचांकहरु कमजोर रहेका छन् । डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको नाफा सन् २०२१ मा कुल आम्दानीको १८.३ प्रतिशत थियो भने सन् २०२२ मा सो नाफा १६.८ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीको चालु पुँजी खर्च पनि सन् २०२२ मा बढेको छ । सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ३५ प्रतिशत रहेको चालु पुँजी खर्च सन् २०२२ मा बढेर ४० प्रतिशत पुगेको छ । कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.९ प्रतिशत रहेको छ ।

सन् २०११ मा नेपाल ग्राम उद्योगको नामबाट स्थापना भएको कम्पनीले सन् २०१५ मा नाम परिवर्तन गरी पतञ्जलि आर्युवेद प्रालि बनाएको थियो । यस कम्पनीले आर्युवेदिक गुण युक्त विभिन्न खाद्य तथा पर्सनल केयर लगायतका सामाग्रीहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले “पतञ्जलि” ब्रान्डनामबाट उत्पादित सामाग्रीहरुको ब्रिकी वितरण गर्दै आएको छ ।

कम्पनीमा एक भारतीय कम्पनी सहित नेपालको महतो ग्रुपको लगानी रहेको छ । कम्पनीमा भारतीय कम्पनी–गङगोत्री आर्युवेदको ९० प्रतिशत र महतो ग्रुपको राम जानकी इन्भेष्टमेन्ट कम्पनीको १० प्रतिशत लगानी रहेको छ ।

कम्पनीका वित्तीय सूचांकहरु कमजोर देखिएता पनि भारतको पतञ्जलि ग्रुपले पतञ्जलि आर्युवेदलाई प्रमोट गरेको र पतञ्जलि ब्रान्डनामबाट नै सामाग्रीहरुको बिक्री वितरण गर्न स्वीकृति दिएका कारण कम्पनीको आम्दानीको ग्राफ बढ्दै गएकोे छ ।

साथै प्रमोटर कम्पनी पतञ्जलि आयुर्वेद भारतले बिना ब्याजको रकम, रोयल्टी रकममा कटौती, कच्चा पदार्थको आपूर्ति तथा कम्पनीले लिने कर्जाको कर्पोरेट ग्यारेन्टी दिएका कारण आम्दानी राम्रो हुँदै गएको छ ।

९५ करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ए३ रेटिङ सहित कर्जा पुनपुष्टि गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।