तरलता संकुचनकाबीच किन जारी हुँदैछ ५ अर्बको रिभर्स रिपो ?

0
Shares

बैंकिङ्ग प्रणालीमा तरलता संकुचनकाबीच नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो निष्कासन गरेको छ । अन्तरबैंकदर घटेर करिडोरको तल्लो सीमा नजिक आएपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो ।

तरलता अभावलाई सम्बोधन गर्नका लागि भनेर केन्द्रीय बैंकले पुस १४ गते ४५ दिनको ५० अर्ब रुपैयाँको दिर्घकालिन रिपो जारी गरेको थियो । रिपोले भरथेग गर्दै आएको प्रणालीमा सरकारले पुसमसान्तमा ८४ अर्ब रुपैयाँ राजस्व उठाएपछि वित्तीय प्रणालीमा तरलताको अवस्था १ अर्ब ४६ करोडले नकारात्मक भएको थियो । त्यसपछि माघ ५ गते राष्ट्र बैंकले पुनः दुई साताका लागि १० अर्बको रिपो जारी गरेको थियो । वित्तीय प्रणालीको तरलतामा कसिलो अवस्थामा रहेकै बेला राष्ट्र बैंकले ५ अर्बको रिभर्स रिपो जारी गरेको हो ।

मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले अन्तरबैंकदर बढाउने उदेश्यका साथ बिहीबार पाँच अर्बको रिभर्स रिपो जारी गरेको बताए ।

उनले भने, “अहिले अन्तरबैंकदर करिडोरको बटम लाईनतिर छ । राष्ट्र बैंकले करिडोरको बटम लाइनतिर तथा माथिल्लो सीमा नजिक दुबैतिर पुगेपछि ब्याजदरमा हस्तक्षेप गर्ने गरेको छ । अहिले अन्तरबैंकदर करिडोरको तल्लो सीमा नजिक गइसकेकाले ब्याजदरलाई करिडोरको बीचमा राख्नका रिभर्स रिपो जारी गरेका हौं ।”

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५० प्रतिशत कायम गरेको थियो ।

राष्ट्र बैंकका अनुसार माघ १० गतेसम्म बैंकिङ्ग प्रणालीमा ४ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीका अनुसार वित्तीय प्रणालीमा लगानीयोग्य तरलता अभाव रहेपनि बैंकहरुले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात कायम गर्न कुनै समस्या छैन ।  राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरुले अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकको अनुसार माघ ८ गते ७.०२ प्रतिशत रहेको अन्तबैंकदर माघ ८ गते आइतबार ५.८० प्रतिशतमा झरेको छ ।

बिहीबार जारी हुने सात दिने अवधिको सो रिभर्स रिपोमा दिउँसो २ बजेभित्र बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडले भाग जानेगरी आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सकिने उल्लेख छ । उक्त रिभर्स रिपोको अवधि माघ १९ गते बिहीबारसम्म रहेको छ । बिहीबार निष्कासन गरिएको रिभर्स रिपोमा बोलकबोल गर्ने बैंक वित्तीय संस्थाले ब्याजदर करिडोरको तल्लो सीमा २ प्रतिशतभन्दा माथिको व्याजदर दाबी गरेको खण्डमा आवेदन स्वत रद्द भएको मानिने केन्द्रीय बैंकले जनाएको छ ।

रिभर्स रिपो जारी हुँदा बैंकहरुले प्रतिस्पर्धात्मक ब्याज दरमा केन्द्रीय बैंकलाई रकम उपलब्ध गराउँछन् । केन्द्रीय बैंकले सस्तो व्याजदरलाई प्राथमिकता दिई आह्वान रकमसम्म बैंकहरुबाट रकम लिने गर्दछ । रिभर्स रिपोबाट हुने व्याज आम्दानी कर योग्य हुने समेत केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन गर्न “रिभर्स रिपो” उपकरण प्रयोग गर्ने गर्दछ । ब्याजदर जति कम कायम भयो बैंकहरुसँग उति बढी अनावश्यक तरलता रहेको मानिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।