लघुवित्त वित्तीय संस्थालाई आर्थिक सुशासनमा ध्यान दिन आग्रह

लघुवित्त वित्तीय संस्थालाई आर्थिक सुशासनमा ध्यान दिन आग्रह

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले लघुवित्त वित्तीय संस्थालाई आर्थिक सुशासनमा ध्यान दिन आग्रह गरेका छन् ।

काठमाडौँमा आइतबार भएको नेपाल लघुवित्त बैंकर्स सङ्घको १६औँ वार्षिक साधारणसभामा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गानाले संस्थागत सुशासनमा कैफियत देखिएकाले सुधार्नु पर्नेमा जोड दिइन् । उनले आर्थिक पारदर्शिता र कर्पोरेट सुशासन सुधार महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

कार्यक्रममा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले वित्तीय क्षेत्रमा जोखिम बढिरहेको सन्दर्भमा ग्राहक संरक्षण महत्वपूर्ण विषयमा भएको बताए । उनले लघुवित्तहरू मुनाफा कमाउनेतर्फ ध्यान केन्द्रित हुँदा समस्या भएको स्मरण गराउँदै मुनाफामा होडबाजी नगर्न सुझाव दिए ।

राष्ट्र बैंकको वित्तीय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले ग्राहक पहिचान र विकासमा ध्यान दिन आग्रह गरे । बजारको अवस्था नहेरी कर्जा प्रवाह गर्दा समस्या हुनेतर्फ सचेत हुन उनले आग्रह गरे ।

कार्यक्रममा सङ्घका महासचिव रामबहादुर यादवले लघुवित्तहरू महिलाको सशक्तिकरण र आर्थिक रुपान्तरणमा सहयोगी बनेको उल्लेख गरे । उनले राष्ट्र बैंकले वित्तीय संस्था मैत्री नीतिनियम ल्याउन जरुरी रहेको औँल्याए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७९, सोमबार ११ : १९ बजे