एशियन फिड्सको वार्षिक कारोबार झण्डै २ अर्ब, कोभिडपछि ४८% ले वृद्धि

0
Shares

एशियन फिड्स उद्योगको आम्दानीमा आकर्षक वृद्धि भएको छ । सन् २०२२ मा कोभिड संक्रमण कम हुँदै गएपछि कम्पनीकाे नाफामा सुधार भएकाे हाे ।

उद्योगले सन् २०२२ मा १ अर्ब ९८ करोड २० लाख बराबरको कारोबार गरेको छ । उक्त आम्दानी सन् २०२१ को तुलनामा ४८ प्रतिशतले बढेको हो । सन् २०२१ मा उद्योगले १ अर्ब ३३ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो ।

आम्दानीमा भएको वृद्धिसँगै कम्पनीका अन्य वित्तीय सूचाङ्क पनि बलियो देखिएका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघिको नाफा कम्पनीको सञ्चालन आम्दानीको ६.५३ प्रतिशत रहेको छ । यसैगरी कर्जाको ब्याज तिर्न सक्ने क्षमता कुल कर्जाको २.९७ गुणा रहेको छ ।

सन् २०११ मा स्थापना भएको कम्पनीले कुखुराको दाना, बंगुरको दाना लगायत बाख्रा, भैंसी, गाईका लागि दाना उत्पादन गर्दै आएको छ । कम्पनीले पोल्ट्री दाना कुखुराको प्रजातिका आधारमा जस्तै ब्रोइलर, लेयर र गिरिराजका लागि भिन्न भिन्न दानाको उत्पादन गर्दै आएको छ । कम्पनीले अधिकतम आम्दानी नै पोल्ट्री दानाको बिक्रीबाट गरेको छ । “एशियन फिड” ब्रान्डनामबाट कम्पनीले दानाको बिक्री वितरण गर्दै आएको छ ।

उद्योगका गतिविधि चालु पुँजी खर्चमा निर्भर रहेको र उद्योगको अप्रेटिङ चक्रमा गिरावट आएका कारण उद्योगको आम्दानी प्रभावित हुन पुगेको छ । उद्योगले कच्चा पदार्थको आयात गरी दाना उत्पादन गर्दै आएको छ । कच्चा पदार्थको मूल्य वृद्धि र अन्तराष्ट्रिय बजारमा नेपाली रुपैयाँ कमजोर रहेका कारण कम्पनीको कारोबार बढेता पनि नाफा बढेको छैन ।

यस्तै नेपालमा विभिन्न समयमा बर्डफ्लु र स्यन फ्लुको प्रकोप बढ्दा कम्पनीको कारोबार प्रभावित हुने गरेको छ । यसका साथै बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा कम्पनीको कर्जाको ब्याज तिर्न सक्ने क्षमता पनि कमी आएको हो ।

तथापि उद्योगको व्यवस्थापन समितिमा पल्ट्री क्षेत्रमा लामो समय काम गरेका देवी प्रसाद गौतम, आइटी क्षेत्रमा विज्ञता हासिल गरेका सुरेश लोहनी र व्यापार, वित्तीय तथा प्रशासनिक विभागहरुमा काम गर्दै आएका बासु देव जोशी उद्योगको सञ्चालक रहेका छन् । बासु देव जोशी उद्योगको अध्यक्ष रहेका छन् । सञ्चालक समितिको विज्ञताका कारण आगामी दिनहरुमा कम्पनीको आम्दानीको ग्राफ बढ्ने देखिन्छ ।

देशभर एशियन फिड उद्योगका ३०८ वटा डिलर रहेका छन् । दानाको बढ्दो माग र बजारमा उद्योगको बाक्लो उपस्थितिका कारण पनि आम्दानी बढ्ने देखिन्छ।

उद्योगले ५० करोड ४६ लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले अल्पकालीन कर्जाका लागि ‘ए–४ रेटिङ’ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।