महिना दिनमै विदेशी सञ्चिति ४८ करोड डलर बढ्यो

0
Shares

चालु आर्थिक वर्षको पुस महिनामा मात्रै ४८ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति बढेको छ । सरकारले आयात निरुत्साहन गर्ने नीतिले विदेशी विनिमय सञ्चितिमा सुधार आएको हो ।

सरकारले आयात निरुत्साहन गर्ने, मूल्य वृद्धि, ब्याजदर उच्च लगायतका कारणले बैंक वित्तीय संस्थामा समेत कर्जाको माग हुन सकेको छैन् । त्यसका साथै केन्द्रीय बैंकले कर्जा लगानीमा गरेको कडाइले माग संकुचन आएपछि विदेशी विनिमय सञ्चितिमा सुधार आएको हो । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा समेत सुधार आएकाले पनि विदेशी सञ्चितिमा सुधार देखिएको हो ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ । चालु आवको पाँच महिना अर्थात मंसिरसम्ममा यस्तो सञ्चिति १२ खर्ब ९२ अर्ब थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ । गत मंसिरको डलरमा सञ्चिति ९ अर्ब ८२ करोड बराबरको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ ।

२०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७९ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.६० प्रतिशत, ७५.५० प्रतिशत र २३.४० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१० प्रतिशत, ५७.८० प्रतिशत र २२.१० प्रतिशत रहेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा २०७८ पुस मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ८७.१७ रहेको कच्चा पेट्रोलियम को मूल्य २०७९ पुस मसान्तमा ४.३० प्रतिशतले कमी आई अमेरिकी डलर ८३.४३ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७८ पुस मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १८२२.९५ रहेकोमा २०७९ पुस मसान्तमा ४.६० प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९०७.१५ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।