शिव शिखर एग्रोले गर्यो साढे २ अर्बको कारोबार

0
Shares

शिखर ग्रुपको लगानी रहेको शिव शिखर एग्रोले सन् २०२२ मा २ अर्ब ४६ करोड २० लाख बराबरको कारोबार गरेको छ ।

यस अघि सन् २०२१ मा कम्पनीले २ अर्ब २७ करोड ८० लाख बराबरको आम्दानी गरेको थियो । सो वर्षको तुलनामा सन् २०२२ मा कम्पनीको आम्दानी ८ प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै अन्य वित्तीय सूचांकहरु पनि क्रमिक रुपमा बढेका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघिको कम्पनीको नाफा सन् २०२२मा कुल सञ्चालन आम्दानीको २.९३ प्रतिशत रहेको छ । यस्तै कम्पनीको इक्युटी र कुल कर्जाको अनुपात १.७१ रहेको छ । कम्पनीले लिएको कर्जाको ब्याज तिर्न सक्ने क्षमता कुल कर्जाको १.९२ गुणा रहेको छ ।

सन् २०१३ मा स्थापना भएको कम्पनीले चामल, दाल, चिया, मसला, चक्की आटा जस्ता सामाग्रीको ‘उपकार’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । भान्सामा प्रयोग हुने खाद्य वस्तुका साथसाथै कम्पनीले टाइलर्स, वाटर पम्प, स्प्रे पम्प लगायतका अन्य कृषि उपकरणहरुको पनि बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा शिखर ग्रुपको लगानी रहेको छ । जसको पहु्ँच नेपालभर रहेका कारण शिव शिखर कम्पनीलाई सामाग्री उत्पादन र वितरणमा सहजता पुगेको छ । उत्पादन र ट्रेडिङकै क्षेत्रमा लामो समयसम्म काम गरेका र २७ वर्षको अनुभव बटुलेका केदारनाथ शर्मा कम्पनीका अध्यक्ष रहेका छन् ।

यस्तै कम्पनीले नेपाली भान्सामा प्रयोग हुने खाद्य वस्तुको उत्पादन गर्ने हुँदा कम्पनीको आम्दानीमा निरन्तरता रहेको छ । निरनतर आम्दानीमा वृद्धि हुँदा कम्पनीको वित्तीय छवि पनि राम्रो देखिन्छ ।

कम्पनीले ५० प्रतिशत कच्चा पदार्थ भारत, क्यानडा, टर्की र अर्जेन्टीनाबाट आयात गर्ने गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, अन्तराष्ट्रिय विनिमय बजारमा नेपाली रुपैयाँको कमजोर प्रर्दशन, बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदरका कारण कम्पनीको आम्दानीमा भारी वृद्धि भएको छैन।

१ अर्ब ४५ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।