इक्रा नेपालले श्री स्टील्सलाई दियो रेटिङ वीथड्रल गर्ने चेतावनी

0
Shares

सिद्धार्थ, केडिया र मुरारका ग्रुपको संयुक्त लगानीमा स्थापना भएको श्री स्टील्सले नै क्रेडिट रेटिङ्ग एजेन्सीलाई आवश्यक सूचना उपलब्ध गराएको छैन । आवश्यक जानकारी नदिएपछि रेटिङ एजेन्सी इक्रा नेपालले श्री स्टीलसलाई रेटिङ वीथड्रल गर्ने चेतावनी दिएको छ ।

सन् २०२१ को जुलाई महिनामा ३ अर्ब १४ करोड ५ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि श्री स्टील्सले रेटिङ गराएको थियो । उक्त समयमा इक्रा नेपालले कमपनीका वित्तीय सूचांकको अवस्था हेरी दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ए–४ रेटिङ गरेको थियो । तर कर्जा रेटिङ गराएपछि कम्पनीले वित्तीय अवस्थाको बारेमा जानकारी नगराएपछि इक्रा नेपालले रेटिङ वीथड्रल गर्ने चेतावनी दिएको हो ।

कुल ३ अर्ब १४ करोड ५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि यसअघि दिएको डबल बी माइन्स रेटिङ घटुवा गरी बी प्लस रेटिङ दिई कम्पनीलाई “इस्युअर नट काे अपरेटिङ” को सूचीमा राखेको छ ।

इक्राले क्रेडिट रेटिङ विनियमावली २०११ का अनुसार कम्पनीको रेटिङ गरेको र सोही विनियमावलीको वीथड्रल÷सस्पेन्सन नीतिमा रहेर रेटिङ वीथड्रलको सूचना दिएको जनाएको छ ।

सन् २०१६ मा स्थापना भएको श्री स्टील्स नेपाली स्टील उद्योगहरुमा नवप्रवेशी उद्योग हो । रुपन्देहीको रोहिणीमा अवस्थीत रहेको उद्योगले टीएमटी छड र वायरको उत्पादन गर्दै आएको छ । कम्पनीको कुल उत्पादन क्षमता प्रति वर्ष १ लाख ५० हजार मेट्रिक टन रहेको छ ।

कम्पनीमा नेपालका ३ व्यापारिक घरानाको लगानी रहेको छ । सिद्धार्थ ग्रुपको ५० प्रतिशत, केडिया ग्रुपको २५ प्रतिशत र मुरारका ग्रुपको २५ प्रतिशत गरी कम्पनीमा ३ संस्थागत कम्पनीका ८ व्यक्तिहरुको लगानी रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार सन् २०२१ मा कम्पनीको आम्दानी ३ अर्ब ७ करोड २५ लाख रहेको छ । सन् २०२२मा कम्पनीको वित्तीय अवस्था कस्तो रह्यो भन्ने विषयमा भने जानकारी उपलब्ध छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।