भूकम्प पीडितको नाममा सहयोग उठाउने फ्रडहरुको सङ्ख्या बढ्दो

0
Shares

सन् २०२२ को फेब्रुअरी ६ मा ट्रकीय र सिरियामा गएको महाविनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुको सङ्ख्या ४७ हजार पुगिसकेको छ । भूकम्प प्रभावित क्षेत्रका मानिसहरुलाई सहायता गर्नका लागि विश्वभरबाट मानिसहरुले सहयोग गरिरहेका छन् । यसै अवस्थाको फाइदा केही फ्रडहरुले उठाइरहेको साइबर सेक्युरिटी विज्ञहरुले बताएका छन् ।

सामाजिक सञ्जालमा विभिन्न तस्वीरहरुको प्रयोग गरी चन्दा उठाउने र त्यो सहयोग भूकम्प प्रभावित क्षेत्रका मानिसहरुको लागि नभई आफ्नै पेपाल अकाउन्ट तथा क्रिप्टो अकाउन्टमा जम्मा गराइरहेको विज्ञहरुको दाबी रहेको छ ।

फ्रड तथा स्कामरहरुले टिकटक लाइभ र ट्वीटरको प्रयोग गरी मानिसहरुबाट सहयोग लिइरहेका छन् । टिकटकमा कन्टेन्ट क्रियटरको काम गर्ने केही मानिसहरुले टर्कीय–सिरिया भूकम्पका केही तस्वीरहरु, भिडियो फुटेजहरु प्रयोग गरी “टर्कीयका लागि प्रार्थना गरौँ, टर्कीयका जनताका लागि सहयोग गरौँ”, “भूकम्प पिडितलाई सहयोग गरौँ” जस्ता वाक्यहरुको प्रयोग गरी मानिसहरुलाई झुक्काइ डिजिटल गिफ्ट तथा नगद माग्ने गरेको बीबीसीले जनाएको छ ।

यस्तै टिकटक लाइभमा नै सन् २०१८ को “स्टप अफ्रिन जेरोसाइड”का तस्वीरहरु प्रयोग गरी मानिसहरुमा भ्रम सिर्जना गरी गिफ्टहरु मागिरहेको दृश्य पनि बीबीसीले सार्वजनिक गरेको छ । टिकटक लाइभको दुरुपयोग गरी सहयोग उठाउने फ्रडहरुबाट मानिसहरुलाई जोगाउनको लागि टिकटकले सक्रिय रुपमा काम गरिरहेको टिकटकका प्रवक्ताले बताएका छन् ।

यस्तै केही मानिसहरुले ट्वीटरमा एआई जेन्रेटेट तस्वीरहरुको प्रयोग गरी बिटकोइन तथा इथेरियम कोइन सहयोग गर्न अपिल गरेका छन् । भत्किएका घरहरुबाट बच्चाहरु बाहिर निकालेका लगायतका तस्वीरहरुको प्रयोग गर्दै केही स्कामरहरुले ट्वीटर मार्फत ठगी गरिरहेका छन् ।

ग्रिक खबरपत्रिका ओइमाका अनुसार ट्वीटरमा प्रयोग भएका अधिकांश तस्वीरहरु “मीड जोर्नी” नामक एआई सफ्टवेयरबाट निर्माण गरेको जनाएको छ । यस्तै कुनै फ्रडहरुले फेसबूक पेज तथा सहायता कोष बनाएर भारी रकम उठाइरहेको सार्वजनिक भएको छ ।

सबै कुराको जति फइदा छ त्यति बेफाइदा पनि छ भनेजस्तै विश्वभरबाट सहयोग उठाई भूकम्प प्रभावित क्षेत्रमा सहयोग पठाउने मानिसहरुको सङ्ख्या पनि बाक्लो छ भने त्यसरी उठेको सहयोग रकम आफ्नो गोजीमा जम्मा गर्ने फ्रडहरुको सङ्ख्या पनि कम रहेको छैन । विपत्को फाइदा उठाइ मानिसहरुको भावनासँग खेलवाड गरी भारी रकम उठाउने र फरार हुने काम नौलो भने होइन । यस अघि घटेका सबै घटनाहरुमा फ्रडहरुको समूह सक्रिय रहि यस्ता कामहरु हुँदै आएका छन् ।

तसर्थ कुनै सामाजिक कारणको लागि कसैलाई सहयोग गर्दै हुनुहुन्छ भने सजकता अपनाइ, तथ्यहरुको पुर्नविचार गरी, आधिकारिक च्यानल मार्फत सहयोग गर्न साइबर सेक्युरिटि विज्ञहरुले सुझाएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।