राष्ट्र बैंकको कडाइले लघुवित्तको सेयरमा बिक्री चाप पर्दा सेयर बजारमा पहिरो

0
Shares

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको सुशासन र ऋणमा देखिएको समस्या समाधान गर्न भन्दै बुधबार एकीकृत निर्देशिका संशोधन गरेपछि बिहीबारको सेयर बजारमा लघुवित्तको सेयरको बिक्री चाप उच्च देखिएको छ ।

राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको लाभांश वितरणको सीमा घटाएसँगै लघुवित्तको सेयरमा बिक्री चाप पर्दा तीन दर्जन बढी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर बिक्री गर्ने बिक्रीकर्ता धेरै भएपछि खरिदकर्ता नहुँदा सेयरमूल्य उच्च दरमा घटेको हो। जसको नकारात्मक प्रभाव सेयर बजारमा परेको छ।

संशोधित व्यवस्थाअनुसार लघुवित्त कम्पनीहरुले १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गरेर बाँकी ५० प्रतिशतको मात्रै लाभांश वितरण गर्नुपर्ने व्यवस्था गरको छ। यसअघि वार्षिक २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।

लघुवित्तप्रति राष्ट्र बैंकले गरेको कडाईले सेयर लगानीकर्ता निरुत्साहित हुँदा अन्य समूहमा समेत बिक्री चाप पर्दा सेयर बजार झण्डै ५८ अंकले ओरालो लागेको छ । यसदिन तीन दर्जन भन्दा बढी लघुवित्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ । त्यस्तै करिब एक दर्जन लघुवित्तकोसेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ।

विहीबार नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको छ । नेप्से ओरालो लागेपनि कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यस दिन स्वावलम्बन लघुवित्त, समीट लघुवित्त, स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सुर्योदय वोमी लघुवित्त, मेरो माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्त, माहुली लघुवित्त, आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

यस्तै, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, इन्फिनिटी लघुवित्त, आधिखोला लघुवित्त, महिला लघुवित्त, जीवन विकास लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, जाल्पा समुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, आदर्श लघुवित्त, धौलागिरि लघुवित्त र श्रीजनशिल लघुवित्तको सेयर पनि १० प्रतिशतले घटेको हो।

यसदिन नेपाल हाइड्रो डेभलपर्स, सामलिङ पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी बढेको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेकी लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।