सिजी फुड्सको आम्दानी बढ्यो, कारोबार वर्ष दिनमै ८ अर्ब बढी

0
Shares

सिजी ग्रुपको खाद्य सामाग्री उत्पादक कम्पनी सिजी फुड्सले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको सञ्चालन आम्दानी सन् २०२१ को तुलनामा १०.७९ प्रतिशतले बढेको हो । सन् २०२१ मा कम्पनीले ७ अर्ब २३ करोड ४० लाख आम्दानी गरेको हो ।

कम्पनीको आम्दानीमा सकारात्मक सुधार आउँदा कम्पनीका अन्य वित्तीय सूचांकहरु भने खुम्चिएका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर अघिको कम्पनीको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ११.१० प्रतिशत थियो भने सन् २०२२ मा ५.३ प्रतिशत रहेको छ ।
यस्तै कम्पनीले लिएको कर्जाको ब्याज तिर्न सक्ने क्षमतामा पनि गिरावट आएको छ । सन् २०२१ मा कुल कर्जाको २९.१० गुणा रहेको ब्याज तिर्नसक्ने क्षमता खुम्चिएर सन् २०२२ मा ११.५० गुणा रहेको छ ।

कम्पनीका वित्तीय सूचांकहरु कमजोर रहनु पछाडि क्षमता भन्दा धेरै लाभांश वितरण रहेको छ । यस्तै कच्चा पदार्थको मूल्य वृद्धिले उत्पादन लागत बढ्नु, बजारमा अन्य ब्रान्डको उपस्थिति बढ्नाले ग्राहकहरुको रोजाइ परिवर्तन हुनुले कम्पनीको आम्दानीमा प्रभाव पारेको छ ।

तथापि नेपालभर मात्र नभई वाइवाइ चाउचाउको ब्रान्ड विश्व प्रखयात हुनु, उत्पादनको लामो इतिहास र सञ्चालक नै एशियाका शीर्ष १० धनी व्यक्तिहरुको सूचीमा रहेका कारण कम्पनीलाई वित्तीय समस्या आउँदा सहजै समाधान हुने देखिन्छ ।

सिजी फुड्स चौधरी समूहको सबैभन्दा पुरानोमध्येको युनिट हो । कम्पनी सन् १९८४ देखि सञ्चालनमा रहेको छ । कम्पनीले थाइल्यान्डको थाइ प्रिजब्र्ड फुड फ्याक्ट्रीसँगको प्राविधिक सहकार्यमा काठमाडौंमा पहिलो फ्याक्ट्री संचालनमा ल्याएको थियो । कम्पनीले वाइवाइ, क्वीक्स, रिओ ब्रान्डमा विभिन्न चाउचाउ, चिप्स लगायतका विभिन्न खाद्य सामाग्रीको उत्पादन गर्दै आएको छ ।

तत्कालै छोटो अवधिका उपभोग्य वस्तुहरू (एफएमसीजी प्रडक्ट) उत्पादन गर्ने यस कम्पनीमा निर्वाण चौधरीको सेयर हिस्सा ७६ प्रतिशत, एपोलो इन्भेष्टमेन्टको २० प्रतिशत, बरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको सेयर हिस्सा ०.२ प्रतिशत रहेको छ ।

कम्पनीले ९९ करोड ५५ लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ए–१ रेटिङ दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।