ऋण लिएपछि नियमित कर्जाको साँवा-किस्ता तिर्नु ऋणीको पहिलो दायित्व होः बैंकर

0
Shares

बैंकरहरुले कुनै पनि बैंक/वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रुपमा कर्जाको साँवा-किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुने बताएका छन् । बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शर्तमा कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता भएको उनीहरुको भनाई छ ।

पछिल्ला दिनमा केही व्यक्तिहरुले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई धम्की दिने र अराजक गतिविधि गर्ने कार्य बढेपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स एसोसिएसनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणा प्रति आपत्ति जनाएका हुन् । यस्ता क्रियाकलाप कसैको हितमा नहुने र आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै उनीहरुले सबैलाई सजग रहन आग्रह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले नियामक निकायबाट जारी भएका नीति–निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही बैंकिङ सेवा प्रदान गर्दै आइरहेको उनीहरुको भनाई छ । कानुन विपरीत कुनै पनि गतिविधिहरु नगर्न र केही समस्या भएको खण्डमा सम्बन्धित संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुने उनीहरुले बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले ४ करोड ८३ लाख भन्दा धेरै निक्षेप खाता मार्फत झण्डै ५४ खर्ब निक्षेप संकलन र १८ लाख भन्दा धेरै ऋणीहरु मार्फत ४८ खर्ब भन्दा धेरै कर्जा परिचालन गरेको विज्ञप्तिमा उल्लेख छ । वित्तीय क्षेत्रले ५३ हजार भन्दा धेरै प्रत्यक्ष रोजगारी सृजना गरेको र आर्थिक वर्ष २०७८/७९ मा राज्यलाई ३४ अर्ब रुपैयाँ भन्दा धेरै कर तिरेको उनीहरुले बताएका छन् ।

यस्तै कोभिड-१९ संक्रमणमा ब्याजदर छुट मार्फत ऋणीहरुलाई प्रत्यक्ष रुपमा १० अर्ब भन्दा धेरैको छुट दिएको समेत बैंकरहरुले बताएका छन् ।
लघुवित्त संस्थाहरुले देशको दूरदराजमा झण्डै ६० लाख निक्षेप खाता तथा ३२ लाख भन्दा धेरै ऋणीहरुलाई सेवा प्रदान गर्नुका साथै २३ हजार भन्दा धेरै प्रत्यक्ष रोजगारी सृजना गरेको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।