नेपाल बीमा प्राधिकरणले बीमक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई बीमा नियमावलीले सम्बोधन गर्नुपर्ने विषयहरूका सम्बन्धमा संस्थागत रूपमा सात दिनभित्र लिखित सुझाव दिन आग्रह गरेको छ ।
बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा फागुन १९ गते शुक्रबार काठमाडौंमा आयोजित छलफल एवं अन्तरक्रिया कार्यक्रमा प्राधिरकणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो आग्रह गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण अध्यक्ष सिलवालले बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायत सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने जानकारी दिए ।
“बीमक, बीमा मध्यस्थकर्ता र बीमितका सम्बन्धमा नियमावलीमा के कस्ता व्यवस्था हुन आवश्यक छ, त्यस सम्बन्धी सुझावको अपेक्षा गरिएको छ । बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ” अध्यक्ष सिलवालले भने, “नेपाली बीमा कम्पनीहरूको पूँजी बढ्दै गएको छ, त्यसलाई पनि हेर्नुपर्छ । नेपाली बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ, यसमा कञ्जुस्याइँ गर्नुहुँदैन, बाटो खोल्दै जानुपर्छ । धेरै नेपाली कार्यरत रहेका देशमा नेपाली बीमा कम्पनीले शाखा खोल्न सक्छन् । विदेशी बीमा सर्भेयरलाई पनि नियमावलीमा समेट्नुपर्छ ।”
अध्यक्ष सिलवालले भने, “वर्षौंदेखि कार्यरत पुराना बीमा सर्भेयर र नयाँ सर्भेयर छनौटका सम्बन्धमा नियमावलीमा स्पष्ट व्यवस्था गर्नुपर्छ । बीमा अभिकर्तालाई बीमा कम्पनीले काम दिने भएकाले त्यसको जस अपजस पनि कम्पनीले लिनुपर्छ । खाइपाई आएको सुविधा घटाउन नपाइने कानूनी व्यवस्था छ, त्यसलाई ध्यान दिनुपर्छ ।”
अध्यक्ष सिलवालले बीमा व्यवसायको विकास एवं विस्तारका लागि बीमा ऐन, नियम र निर्देशिका पूर्णरूपमा पालना गरी अगाडि बढ्न बीमा कम्पनीहरूलाई निर्देशन समेत दिए ।
बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग समेत छलफल गरी प्राप्त सुझावहरूका आधारमा मस्यौदालाई अन्तिम रूप दिने उद्देश्यले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा नियमावली, २०७९ को मस्यौदाको प्रस्तुति गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया