बेबी डायपर उत्पादक ब्रजेश्वरी उद्योगले गर्यो साढे ८ करोडको कारोबार

0
Shares

ब्रजेश्वरी ग्रुपको लगानीमा स्थापना भएको बेबी डायपर उत्पादक कम्पनी ब्रजेश्वरी इन्डष्ट्रिजले सन् २०२२ मा ८ करोड ५० लाखको कारोबार गरेको छ ।

सन् २०१८ मा रजिष्टर भएको कम्पनीले सन् २०२२ बाट बेबी डायपर उत्पादन गरेको छ । कम्पनीले नेपाली बजारमा ‘न्यानो’ र ‘टेन्डर टच’ को ब्रान्डनामबाट बेबी डायपर बिक्री गरिरहेको छ ।

आर्थिक वर्ष २०२२ मा ८ करोड ५० लाख सञ्चालन आम्दानी गरेको ब्रजेश्वरी इन्डष्ट्रिजले आर्थिक वर्ष २०२३को ६ महिना अवधिमा १९ करोड बराबरको सञ्चालन आम्दानी गरेको छ ।

उत्पादनको सुरुवाती चरणमा कमपनीले राम्रो प्रर्दशन गरेता पनि कच्चा पदार्थका लागि आयातमा निर्भर रहेको छ । जसकारण अन्तराष्ट्रिय बजारमा नेपाली मुद्राले कमजोर रहँदा कम्पनीले कच्चा पदार्थका लागि धेरै रकम खर्चिनु परेको छ । जसको प्रभाव कम्पनीको आम्दानीमा समेत परेको छ ।

यस्तै बेबी डायपर उत्पादक कम्पनी पछिल्लो समयमा नेपालमा बढ्दै गएका छन् । जसकारण आफ्नो उत्पादनको बजारीकरण र ग्राहकको रोजाइमा पर्नका लागि प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ ।

तथापि नेपालमा बेबी डायपरको माग पछिल्लो समयमा बढ्दै गएको छ । बजारमा बेबी डायपरको निरन्तर माग हुँदा त्यसको लाभ कम्पनीलाई हुनेछ । कम्पनीको प्रमोटर ब्रजेश्वरी ग्रुप रहेको छ । डुलक्स पेन्ट्सको आधिकारिक बिक्रेता रहेको ब्रजेश्वरी इन्टरनेशनल र ब्रजेश्वरी ओभरसीजले बेबी डायपरको पहुँच विस्तारमा सहयोग गर्नेछन् । जसकारण आगामी समयमा कम्पनीको आम्दानी थप बढ्ने देखिन्छ।

सन् २०२२मा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेशन, ब्याज र कर सहितको नाफा कुल सञ्चलान आम्दानीको १.११ प्रतिशत रहेको छ । यस्तै कम्पनीको कर्जा र सेयरधनीहरुको सेयर अनुपात २.४९ रहेको छ ।

कम्पनीले ६० करोड ९१ लाख ३२ हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ४५ करोड ४१ लाख ३२ हजार बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको छ भने १५ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।