आठ महिनाको व्यापार घाटा साढे ९ खर्ब, साढे १० खर्बको आयात हुँदा एक खर्बको निर्यात

0
Shares

चालु आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा मुलुकको कूल व्यापार घाटा साढे ९ खर्ब रूपैयाँ नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार पुगेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको तुलनामा १७.८६ प्रतिशतले कमी आएको हो ।

आठ महिनाको अवधिमा देशको कूल व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल १० खर्ब ५८ अर्ब ३८ करोडको आयात हुँदा एक खर्ब ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आवको ८ महिनामा कूल व्यापार २०।१४ प्रतिशतले घटेको छ । गत आवमा कूल १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको व्यापार भएको थियो ।

गत आवमा १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालु आवको ८ महिनामा १९.१३ प्रतिशतले कमी आई १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।

यस्तै, गत आवको ८ महिनामा एक खर्ब ४७ अर्ब ७४ करोड बराबरको माल वस्तु निर्यात भएकोमा चालु आवको ८ महिनामा २९.०७ प्रतिशतले ओरालो लागेर एक खर्ब ४ अर्ब ७९ करोड बराबरको वस्तु निर्यात भएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।