नेपालमा एप्पल र डेलको उत्पादन बेच्ने जेनेरेसन नेक्स्टको व्यापार साढे ३ अर्ब

0
Shares

नेपालमा एप्पल र डेलले उत्पादन गरेका सामाग्रीहरुको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशन कम्पनीले सन् २०२२ मा ३ अर्ब ५७ करोड १० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ९५ करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१को तुलनामा कम्पनीको सञ्चालन आम्दानी ८३ प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानीमा सुधार भएसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा पनि सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर सहितको कम्पनीको नाफा सन् २०२२ मा कुल सञ्चालन आम्दानीको ६.२ प्रतिशत रहेको छ । यो नाफा सन् २०२१मा ५.४३ प्रतिशत थियो ।

यस्तै कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता समेत बढेको छ । सन् २०२२मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको २.७६ गुणा रहेको छ भने सन् २०२१मा १.९४ प्रतिशत थियो ।

सन् २०१० मा स्थापना भएको जेनेरेसन नेक्स्ट कम्युनिकेशन कम्पनी नेपालमा एप्पलको आधिकारिक बिक्रेता रहेको छ भने कम्पनीले डेल कम्पनीका नेपाल रहेका ३ आधिकारिक बिक्रेता मध्ये एक रहेको छ । कम्पनीमा भीमसरिया ग्रुपको लगानी रहेको छ । बैंकिङ, टे«डिङ तथा म्यानुफ्याक्चरिङ क्षेत्रमा चार दशक लामो अनुभव भएका पवन कुमार भीमसारिया कम्पनीका प्रबन्ध निर्देशक रहेका छन् ।

कम्पनीको वार्षिक कम्पाउन्डिङ वृद्धि दर ३५ प्रतिशत रहेको छ । पछिल्लो समयमा नेपालमा एप्पल प्रयोगकर्ताहरु बढ्दै गएका छन् । जसकारण एप्पलले उत्पादन गर्ने आइफोन, म्याकबूक, आइप्याडको माग बढ्दै गएको छ । विश्वव्यापी रुपमा विख्यात ब्रान्डका रुपमा एप्पल रहेको छ ।

यस्तै डेल कम्पनीले उत्पादन गरेका ल्यापटपको बिक्री वितरण समेत कम्पनीले नै गर्दै आएको छ । नेपालमा डेलका ल्यापटपहरुको माग उच्च रहेको छ । मागलाई सम्बोधन गर्न कम्पनीले नेपालका मुख्य सहरी क्षेत्रमा डिलर स्थापना गरेको छ । जसकारण कम्पनीको आम्दानीको ग्राफ उकालो चढ्दै गएको छ ।

तथापि कम्पनीले विभिन्न देशहरुबाट एप्पल तथा डेलका प्रोडक्टहरु खरिद गर्दै आएको छ । अन्तराष्ट्रिय बजारमा डलरको भाउ बलियो हुँदा नेपाली रुपैयाँले कमजोर प्रर्दशन गरिरहेको छ । जसको प्रभाव कम्पनीको आम्दानीमा परेको छ । पछिल्लो समयमा आइफोनलाई टक्कर दिने गरी विभिन्न कम्पनीहरुले स्मार्टफोन तथा आइप्याडहरु उत्पादन गरिरहेका छन् । यस्तै नेपालमा अझैपनि बजेट फोन नै धेरै बिक्री हुनेहुँदा कम्पनीको आम्दानी प्रभावित भएको छ ।

यस्तै बजारमा अन्य कम्पनीका ल्यापटपहरु पाइन्छन् जसकारण ग्राहकहरुको रोजाइ परिवर्तन हुँदै गएको छ । यसको प्रत्यक्ष प्रभाव कम्पनीको आम्दानीमा पर्ने देखिन्छ ।

कम्पनीले १ अर्ब ८५ करोड ३ लाखको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ए४ प्लस रेटिङ दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।