सार्वजनिक–निजी साझेदारीको वित्तीय जोखिम व्यस्थापनका लागि कार्यशाला

सार्वजनिक–निजी साझेदारीको वित्तीय जोखिम व्यस्थापनका लागि कार्यशाला

विश्व बैंकले नेपालको पूर्वाधार विकासका लागि सार्वजनिक–निजी क्षेत्रको साझेदारी मार्फत लगानी गर्दा उत्पन्न हुने वित्तीय जोखिमको व्यवस्थापन विषयमा एक दिने कार्यशाला सम्पन्न गरेको छ ।

पिपिपिको समन्वयनमा हुने पूर्वाधार विकासका परियोजनाहरुमा उत्पन्न हुने विविध समस्याहरुको समाधानका लागि विश्व बैंकले एक दिवसीय कार्यशाला सञ्चालन गरेको थियो ।

१५ औँ पन्च वर्षीय योजना अन्तर्गत सरकारले पूर्वाधार विकासका लागि ८ खर्ब बराबरको लगानी सार्वजनिक–निजी साझेदारी मार्फत संकलन गर्ने उद्देश्य सरकारले राखेको छ । सार्वजनिक तथा निजी क्षेत्रको साझेदारी (पिपिपि)मा पूर्वाधार विकासका योजनाहरुमा लगानी हुँदा विभिन्न किसिमका वित्तीय जोखिमहरु उत्पन्न हुन सक्छन्।

पिपिपि क्षेत्रबाट पूर्वाधार विकासमा लगानी हुँदा साझेदारहरुको लक्ष्यमा भिन्नता हुन सक्छ । यस्तै एकअर्काबीचमा समर्थन नमिल्न सक्छ, जिम्मेवारी बाँडफँडमा समस्या उत्पन्न हुने, पारदर्शी तरिकाबाट विकास योजना कार्यान्वयन नहुने र साझेदारहरु चयनका क्रममा पर्याप्त नीतिहरु नहुँदा परियोजना समयमा सम्पन्न हुनेमा समेत प्रश्न उठ्न सक्छ । यी समस्याहरुले सार्वजनिक–निजी क्षेत्रको समन्वयनमा हुने परियोजनाहरुमा जोखिम निम्त्याउन सक्छन् ।

पिपिपिको समन्वयनमा हुने पूर्वाधार विकासका परियोजनाहरुमा उत्पन्न हुने विविध समस्याहरुको समाधानका लागि विश्व बैंकले एक दिवसीय कार्यशाला सञ्चालन गरेको थियो । यस कार्यशालामा नेपालको तर्फबाट अर्थमन्त्रालयका उपसचिव, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्डको कार्यालय नेपाल, प्रधानमन्त्रीको कार्यालयबाट कर्मचारीहरु कार्यशालामा संलगन रहेका थिए ।

पिपिपि मार्फत विकासका परियोजनामा लगानी गर्दा सरकारलाई पर्ने वित्तीय भार कम हुन जान्छ भने विकासका कार्यहरु राज्य केन्द्रीत हुँदैनन् । तथापि सार्वजनिक–निजी साझेदारीमा सिर्जना हुने समस्याहरुको पहिचान, समाधानका लागि सरकारले निर्वाह गर्नुपर्ने मध्यस्तकर्ताको भूमिका र लगानीकर्ताहरुलाई लगानीको लागि उपयुक्त वातावरण सिर्जना र लगानीको सुरक्षाको प्रत्याभूति दिलाउन सके वित्तीय जोखिमहरु न्युनिकरण गर्न सकिने पूर्वाधार वित्तीय विशेषज्ञ मार्क गिब्लेटले जनाएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ चैत २०७९, बिहीबार १३ : ५२ बजे