पूर्वाञ्चल ल्यूब आयलको आम्दानीमा वृद्धि, ७५ करोडको कारोबार

0
Shares

मोबिल तथा ग्रीज उत्पादक कम्पनी पूर्वाञ्चल ल्यूब आयल कम्पनीले सन् २०२२ मा ७५ करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी ५० करोडले बढेको हो ।

सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर अघिको कम्पनीको आम्दानी कुल सञ्चालन आम्दानीको १६.८१ प्रतिशत रहेको छ । यसअघि सन् २०२१ मा सो नाफा १३.०३ प्रतिशत रहेको थियो । यस्तै कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.५१ गुणा रहेको छ ।

सन् २००१ मा स्थापना भएको पूर्वाञ्चल ल्युब आयल कम्पनीले मोबिल, ग्रीज लगायतका लुब्रिकेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ‘पीएलओ’, ‘स्टार’, ‘मेगा’, ‘प्राइम’ र ‘सुरक्षा’ ब्रान्ड नामबाट लुब्रिकेन्ट बिक्री गर्दै आएको छ ।

कम्पनीको फ्याक्ट्री मोरङ जिल्लाको बिराटचोकमा रहेको छ । फ्याक्ट्रीको उत्पादन क्षमता प्रति दिन ३६ हजार किलो मोबिल र १२ हजार ८ सय किलो ग्रीज रहेको छ ।

पूर्वाञ्चल ल्युब आयल कम्पनीमा पूर्वान्चल ल्युब आयल ग्रुपको लगानी रहेको छ । कम्पनीका अध्यक्ष भोलेश्वर दुलाल रहेका छन् ।

कम्पनीले १ अर्ब १७ करोड १ लाख बराबरको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ७ करोड ९१ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले डबल बी रेटिङ गरेको छ भने १ अर्ब ९ करोड १०लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।