होम डेकोरका सामाग्री उत्पादक हनुमन्त पोली इन्डष्ट्रिजको ६४ करोडको कारोबार

0
Shares

सन् २०२२ मा हनुमन्त पोली इन्डष्ट्रिजको सञ्चालन आम्दानी ६४ करोड २० लाख पुगेको छ । सन् २०२१ मा कम्पनीले ३७ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा कम्पनीको सञ्चालन आम्दानी ७०.७४ प्रतिशतले बढेको हो ।

सञ्चालन आम्दानीमा आकर्षक वृद्धि देखिएता पनि कम्पनीका अन्य वित्तीय सूचांक कमजोर देखिएका छन् । कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर सहितको आम्दानी कुल सञ्चालन आम्दानीको १५.३८ प्रतिशत रहेको छ । जुन सन् २०२१मा १७.३२ प्रतिशत थियो । कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा पनि कमी आएको छ । सन् २०२१ मा कुल कर्जाको २.२३ गुणा रहेको ब्याज तिर्ने क्षमता सन् २०२२मा घटेर १.७८ पुगेको छ ।

कम्पनीका गतिविधि चालु पुँजी खर्चमा आधारित रहेका छन् । साथै कम्पनीले भारत, टर्की, साउदी अरेबिया, चीन, बाङ्लादेशबाट कच्चा पदार्थको आयात गर्दै आएको छ । अन्तराष्ट्रिय बजारमा डलर शक्तिशाली हुँदा कम्पनीले १० लाख बढी नेपाली रुपैयाँ विदेशी विनिमयमा नै खर्चिएको छ । यस्तै बजारमा प्रतिस्पर्धी कम्पनीहरुको सङ्ख्या बढ्दै गएको छ । जसकारण ग्राहकहरु आकर्षण गर्न कम्पनीले थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।

सन् २०१५ मा स्थापना भएको हनुमन्त पोलि इन्डष्ट्रिजले होम डेकोरका लागि आवश्यक पर्ने विभिन्न सामाग्रीहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले हनुमन्त ब्रान्डनाम अन्तर्गत आफ्ना उत्पादनहरुको बिक्री गर्दै आएको छ । डिलाइट, फिदरबेड, चिराग, स्वोर स्लीप, रोल्ड सीरिज, पिलो टप सिरिज लगायतका सब–ब्रान्डनामबाट पनि कम्पनीले उत्पादन बिक्री गर्ने गरेको छ ।

कम्पनीका अध्यक्ष अनिल कुमार अग्रवाल रहेका छन् । यस्तै निर्देशक मनिष अग्रवाल हुन् । हनुमन्त पोलि इन्डष्ट्रिज हनुमन्त ग्रुप अफ इन्डष्ट्रिजको भगिनी संस्था रहेको छ ।

५५ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । २० करोड ४२ लाख १० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले डबल बी माइन्स रेटिङ गरेको छ भने ३४ करोड ५७ लाख ९० हजार बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।