पौने २ अर्ब लगानीमा नक्सालमा स्वर्णिम बुटिक होटल निर्माण हुँदै

0
Shares

काठमाडौँको नक्सालमा १ अर्ब ७६ करोड २० लाख लगानीमा तीन तारे बुटिक होटल–स्वर्णिम बुटिक होटल निर्माण हुने भएको हो ।

सन् २०२४ को जनवरीदेखि होटल सञ्चालन हुने छ । सन् २०२३ को जनवरी महिनासम्म होटल निर्माणको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

कुल १ अर्ब ७६ करोड २० लाखमा निर्माण भइरहेको उक्त होटलको कर्जा र सेयरधनीहरुको सेयर अनुपात ५६ः४४ रहेको छ । कुल लगानी मध्येको ९९ करोड कर्जामा आधारित रहेको छ भने ७७ करोड २० लाख लगानीकर्ताहरुको लगानी रहेको छ ।

स्वर्णिम बुटिक होटलले इन्टरकन्टिनेन्टल होटल ग्रुपसँग सम्झौता गरी होलिडे इन एक्सप्रेसको ब्रान्डनाम प्रयोग गर्ने छ ।

यस होटलका अध्यक्ष नरेश लाल श्रेष्ठ हुन् भने निर्देशक महेश्वर श्रेष्ठ रहेका छन् । महेश्वर श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका निर्देशक समेत रहेका छन् ।

११ हजार ८३१ स्क्वायर फिटमा निर्माण हुँदै गरेको यस होटलमा कुल ११० कोठा हुनेछन् । सन् २०१२ मा स्थापना भएको यो होटल यस अघि सन् २०२२को अप्रिल महिनामा सञ्चालानमा आउने भनिएको थियो । तथापि समयमा जग्गा अधिग्रहण र निर्माणको काम सम्पन्न हुन नसक्दा होटल सञ्चालनमा ढिलाई भएको हो ।

होटलले ९९ करोड बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरनेपालले होटललाई डबल बी माइन्स रेटिङ गरेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।